कमाउन गएका छोराहरु मलेसियामै अस्ताए, शव ल्याउन सकिएन खरानी मात्रै आयो
फाइल फोटो
काठमाडौं। मलेसियामा रोजगारीका लागि गएका तीन जना नेपालीको उतै मृत्यु भयो । परिवारले उनीहरुको शव मात्रै भए पनि अन्तिम पटक हेर्ने चाहना राखेका थिए । तर, कोरोनाभाइरसको महामारीका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरुको शव ल्याउन सकिएन । अन्ततः केही सीप नलागेपछि परिवारले उनीहरुको उतै दाहसंस्कार गर्न स्वीकृति दिए । चित्त बुझाउनकै लागि उनीहरुले शवको अस्तु (खरानी) मात्रै भए पनि ल्याइदिन आग्रह गरेका थिए । जसअनुसार ती तीन नेपालीको शव शुक्रबार काठमाडौं ओर्लिएको छ ।
तीन अस्तुसहित अन्य १३ शव पनि आजै नेपाल आइपुगेका छन् । नेपाल एयरलाइन्सको चार्टर्ड वाइड बडी विमानमा तीन अस्तुसहित अन्य १३ शव नेपाल आएका हुन् । क्वलालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले डिसी नेपाललाई दिइएको जानकारी अनुसार सोलुखुम्बुका सुमन बस्नेत, काभ्रेपलाञ्चोकका रुपचन्द्र स्याङतान र गुल्मीका अम्मर बहादुर थापाको अस्तु पठाइएको हो ।
रुपन्देहीका माइमुदिन मुसलमान, संखुवासभाका टेकप्रसाद लिम्बू, भोजपुरका विनोद राई, बाराका जुगेश्वर महतो कोइरी, बाँकेका देवबहादुर राना, सर्लाहीका सुरेश राय, सिरहाका विन्देश्वर महतो, झापाका भुवन हलवाई, उदयपुरका होमबहादुर विष्ट, बाग्लुङका फटिक थापा, चितवनका शिवप्रसाद सापकोटा, सप्तरीका पुष्पनारायण चौधरी र बाँकेका आशनारायण प्रसाद कुशवाहको भने शव नै ल्याइएको छ ।
शुक्रबार बिहान क्वालालम्पुरबाट आएका २ जहाज काठमाडौं ओर्लिएका थिए । नेपाल एयरलाइन्सको वाइड बडी चार्टर्ड उडानमा १३ शव ३ अस्तु र २६४ जना नेपाली आएका थिए । यसैगरी हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट १५४ जना नेपाली गरी कूल ४१८ जना नेपाली स्वदेश फर्किएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment