साउदीमा ७ महिनादेखि अलपत्र ६ नेपाली महिलाको उद्धार

डिसी नेपाल
१२ भदौ २०७७ १५:४५
28
Shares

रियाद । साउदी अरबमा अलपत्र परेका ६ नेपाली महिलाको उद्धार गरिएको छ । विगत ७ महिनादेखि अलपत्र अवस्थामा रहेका उनीहरुको गन्तव्य नेपाल नामक संस्थाले उद्धार गरेको हो।

उनीहरु साउदी अरबको राजधानी रियादमा रहेको एक कम्पनीमा कार्यरत थिए । कम्पनीले काम तथा तलब नदिएपछि विगत ७ महिनादेखि अलपत्र परेका उनीहरुलाई गन्तव्य नेपालले उद्धार गरेर नेपाल पठाएको हो।

गन्तव्य नेपालले चुनौती खेप्दै उनीहरुलाई उद्धार गर्न सफल भएको जनाएको छ । उद्धारको लागि गन्तव्य नेपालका रियादका प्रतिनिधि बालकृष्ण पौडेलले विशेष भूमिका खेलेका थिए । पौडेले रियादस्थित नेपाली दूतावासँग समन्वय गरेर उनीहरुको उद्धार गर्न सफल भएको बताएका छन् । उनीहरुलाई स्वदेश फर्काउन गन्तव्य नेपालकै प्रतिनिधि मिलन गुरुङ र हिरा केसीले विशेष पहल गरेका थिए।

रोजगारविहीन भएपछि उनीहरुलाई बिहान–बेलुका छाक टार्नसमेत गाह्रो परेको थियो । खानको अभाव भएपछि उनीहरुले आफूहरुको उद्धार गर्न भन्दै गुहार मागेका थिए । उनीहरुको उद्धारको लागि गन्तव्य नेपालको रियाद टिमले ३ महिना अघिदेखि नै प्रक्रिया सुरु गरेको थियो ।

कम्पनीले करार सम्झौता पूरा भइसकेपछि पनि उनीहरुलाई नेपाल फिर्ता पठाएको थिएन । कम्पनीले बिना सूचना अर्को सम्झौता थपेको थियो । घर फर्किन अनुरोध गर्दा पनि कम्पनीले अनुमति नदिँदा उनीहरु साउदीमै बस्न बाध्य थिए। कोरोना महामारी सुरु भएपछि उनीहरुको रोजगारी नै ठप्प भएर आम्दानीविहीन भएका थिए ।

उनीहरु बुधबार नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाल फर्किएका छन् । उनीहरुको विदाइको लागि गन्तव्य नेपालका प्रतिनिधिहरु रियादस्थित किंग खालिद अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।

उनीहरुलाई गन्तव्य नेपालले नेपालमा एक हप्ताको लागि होटल क्वारेन्टाइन बस्न खर्चस्वरुप प्रतिव्यक्ति ४५० साउदी रियालका दरले २७ सय रियल (नेपाली करिब ८५ हजार) आर्थिक सहयोग समेत गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *