विद्यालय बन्द हुँदा नेपालका दुई तिहाइ बालबालिका दूर शिक्षाबाट बञ्चित

डिसी नेपाल
१५ भदौ २०७७ ८:३०

काठमाडौं। कोरोनाभाइरस महामारीको कारण विद्यालय बन्द हुँदा नेपालका दुई तिहाइ बालबालिका दूर शिक्षाबाट बञ्चित भएका छन् । यो अनुपात पूरै विश्वको अनुपातमा दोब्बर हो । पूरै विश्वको तथ्यांक हेर्दा एक तिहाइ बाबिालिका दूर शिक्षाबाट बञ्चित छन् तर नेपालको हकमा दुई तिहाइ नेपाली बालबालिका दूर शिक्षाबाट बञ्चित भएको संयुक्त राष्ट्रसंघीय बाल आकस्मिक कोष (युनिसेफ)को अध्ययनले देखाएको छ ।

शुक्रबार प्रकाशित अध्ययनको रिपोर्टअनुसार विश्वभरीका ४६ करोड ३० लाख बालबालिकाले दूर शिक्षाको लाभ लिन सकिरहेका छैनन् । रिपोर्टका अनुसार १ अर्ब ५० करोड बालबालिका स्कुल बन्द भएका कारण प्रभावित भएको युनिसेफको ‘द रिमोट लर्लिङ रिचेबिलिटी’ रिपोर्टमा उल्लेख छ । यो अध्ययन १०० देशहरुको तथ्यांकको विश्लेषण गरेर गरिएको हो जसमा दूर शिक्षाका लागि आवश्यक उपकरणहरुसम्म बालबालिकाको पहुँचको अध्ययन गरिएको छ ।

नेपालमा युनिसेफ नेपालले गरेको पछिल्लो ‘चाइल्ड एण्ड फेमिली ट्रयाकर’ सर्वेक्षणले दुई तिहाइ नेपाली बालबालिका दूर शिक्षाबाट बञ्चित भएको देखाएको छ । हरेक १० स्कुले विद्यार्थीमध्ये ३ जनाको मात्र टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइ प्लेटफार्मसम्म पहुँच भएको र पहुँच भएकामध्ये पनि ८० प्रतिशतले मात्र सिकाइ क्रियाकलापको लागि दूर शिक्षा प्लेटफार्महरु प्रयोग गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *