मेरिल्याण्डमा राति पिज्जा डेलिभरी गर्ने भट्टलाई लुटेराले निर्घात पिटे

डिसी नेपाल
१७ भदौ २०७७ ६:१९

वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित वाल्टिमोर शहर नजिकको पेरिहल भन्ने ठाउँमा एकजना नेपाली युवा निर्घात पिटिएका छन् । दुईजना लुटेराहरुले रातिको समयमा उनलाई पहिला मरणासन्न हुने गरी पिटेर त्यसपछि साथमा भएको सामान लुटेका थिए ।

घटना गत शनिबार राति करिव १० बजेको हो । पेरिहलको ‘क्यालिफोर्निया ग्रिल एण्ड पिज्जा स्टोर’ मा पिज्जा डेलिभरीको काम गर्ने गरेका भट्ट थरका ती नेपाली युवालाई दुई अश्वेत नागरिकले मरणासन्न हुने गरी कुटेका थिए।

कुटाइबाट घाइते भई भुँइमा ढलेपछि भट्टका साथमा रहेको नगद ८०० डलर लिएर लुटेराहरु भागेको पीडित युवाले नाम उल्लेख नगर्ने सर्तमा डिसी नेपाललाई बताए।
घाइते भट्टका अनुसार शनिबार उनको नियमित काम थियो।

करिब १० बजेको हाराहारीमा उनले एक घरमा पिज्जा डेलिभरी गर्ने क्रममा सो घटना घटेको थियो। पिज्जा लिएर जब उनी गन्तब्यमा पुगे र गाडी पार्किङ गरेर पिज्जा झिक्दै थिए त्यति नै बेला पछाडिबाट कसैले अनुहारमा मुक्का हान्यो। झट्ट हेर्दा दुई अश्वेत नागरिक थिए। एउटाले समाउने र अर्कोले मुक्का प्रहार गर्दा उनी भुईंमा ढले।

ढलेपछि पनि लगातार लात्ती र मुक्का प्रहार गरिरहे  अन्त्यमा हलचल गर्न नसकेपछि साथमा रहेको नगद लिएर लुटेरा फरार भएका थिए। होसमा आएपछि उनले इमर्जेन्सी नम्बर ९११ मा फोन गरेर आफू कुटिएको र लुटिएको जानकारी गराएका थिए।

लगत्तै घटनास्थल पुगेको प्रहरी र चिकित्सकको टोलीले भट्टलाई नजिकैको हस्पिटलमा पुर्याएको थियो। अनुहार,छाती र पिठ्यूमा गहिरो चोट लागेका उनी तीन दिनको उपचारपछि घर फर्किएका छन्।

प्रहरीले अझैसम्म आक्रमणकारीहरुको पहिचान गरेर आफूलाई खवर गरिनसकेको भट्टले बताए। आफूलाई मरणासन्न हुने गरी पिटेर साथमा भएको रकमसमेत लैजाने लुटेराहरु पक्राउ परी कानूनी कारवाही हुनेमा आफू आशावादी रहेको उनले बताए ।

शरीरभरि लागेको चोटका कारण उनी अझै केही हप्तासम्म काममा जान सक्ने अवस्थामा छैनन् । घटनाबारे थाहा पाएपछि अस्पतालमै भेट्न पुगेका डिसी नेपालका संवाद्दातालाई पीडित भट्टले आफ्नो नाम गोप्य राखेरमात्र समाचार प्रकाशन गरिदिन आग्रह गरेका थिए।  राति राति पिज्जा डेलिभरी गर्ने वा अन्य ड्राइभिङ्गको काम गर्नेहरु पनि सतर्क हुनुपर्ने सुझाव उनले दिएका छन् ।

कोरोना महामारीका कारण उत्पन्न बेरोजगारीले गर्दा केही घण्टा काम गरेर गुजाराको रकम कमाउन नेपालीहरु राति राति पनि गाडी चलाउने काममा धेरै संलग्न भएका छन् । भट्टलाई लुटेराहरुले पिटेको यो घटनापछि राति काम गर्ने अरुहरुलाई पनि सतर्क भएर काम गर्न उनले आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *