प्रहरीको कुटाइबाट मारिएका निरञ्जन र विजयलाई शहीद घोषणा माग

डिसी नेपाल
१७ भदौ २०७७ १७:५९

रौतहट। दलित सङ्घर्ष समिति रौतहटले १० सूत्रीय मागसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि जारी दलितको धर्नास्थलमा आज पत्रकार सम्मेलन गरी समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रहरी हिरासतमा रहेका सिकेन्द्र पासवान, अजय राम, विवेकराय यादव र अर्जुुन रामको रिहाइको माग गर्दै मृतक निरञ्जन राम र विजय रामलाई शहीद घोषणा गर्न माग गरिएको छ । यस्तै प्रहरीको यातनापछि मृत्यु भएका विजयको मुद्दा दर्ता गरी दोषी प्रहरीलाई कारवाहीको माग गरिएको छ । मृतक निरञ्जनको मृत्युका अभियुक्त लखन साह र राजगिर साहलाई कानूनी दायरामा ल्याउन माग गरिएको समितिका अध्यक्ष सोनालाल रामले बताए।

गत साउन ३२ गते गरुडा नगरपालिका–८ जिंगडियाका २२ वर्षीय निरञ्जनको हत्या गरिएको अभियोगमा पक्राउ परेका विजयको उपचारका क्रममा यही भदौ १० गते नेशनल मेडिकल कलेजमा मृत्युु भएको थियो ।

यता इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो प्रदेश नं २ मा तानिनुभएको तथा प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित दुई हवलदार निलम्बनमा पर्नुभएको छ । यसैबीच गृह मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले घटनाको छानबिन शुुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *