गाउँको छलफलमा सँधै विरोध गर्ने पुजारीकाे जब हत्या गर्ने योजना बन्यो

डिसी नेपाल
१७ भदौ २०७७ २०:३४

काठमाडौं। यही भदौं ३ बेलुका रौतहटमा एक घटना भयो पुजारी हत्याको। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेस्रैया चौकस्थित हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या भयो। खाना खाइरहेका बेला बेलुका ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर पुजारी बसेकै ठाउँमा ढले।

उनको घटनास्थ्लमै मृत्यु भयो। घटनास्थलमा ढलेका पुजारी र सँगै राखिएको खानाको तस्वीर सामाजिक सञ्जालमा भाइरलसमेत बन्यो।

घटना भएको १५ दिनपछि प्रहरीले सो हत्या प्रकणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। ६५ वर्षीय पुजारी राम साहको हत्या आरोपमा देवाही गोनाही नगरपालिका १ बस्ने ३६ वर्षीय राम नरेश राउत पटेल र सोही स्थानका २८ वर्षीय बालकुमार पटेललाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला अदालत रौतहटले अभियुक्तलाई १० दिन थुनामा राख्न पनि अनुमति दिइसकेको रौतह प्रहरीले जनाएको छ।

प्रहरीले सो हत्याका पछाडी ३ वटा कारण रहेको निश्कर्ष निकालेको छ। प्रहरीका अनुसार पुजारीसँग राम नरेशका बाबुले ऋण लिएको र सो विषयमा विवाद भएको एक कारण हो। त्यस्तै दोस्रो कारण मृतक पुजारीको ३ वटा मदिरा पसल रहेको र सो पसलमा रक्सी पियर मन्दिरमा आएर खुट्टा धुने गरेको विषयमा पनि राम नरेश र पुजारीबीच हत्या हुनुभन्दा तीन दिन अगाडि विवाद भएको थियो।

अर्को कारण हो – गाउँमा हुने विभिन्न छलफलहरुमा पुजारीले फरकमत राख्ने गरेको र त्यसमा राम नरेशलगायत अन्यसँग पटक पटक विवाद भएको।

अभियुक्तहरुले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राम नरेशले पुजारीको कन्चटमा गोली प्रहार गरेका थिए भने बालकुमारले त्यहाँ मानिसको आवतजावत निरीक्षण गरेका थिए। राम नरेशले आफ्नै कटुवा पेस्तोलबाट गोली चलाएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *