साइप्रसमा २ जना नेपालीमाथि चरम यातना, मालिक र म्यानेजर पक्राउ

डिसी नेपाल
१८ भदौ २०७७ १०:५५

काठमाडौं। साइप्रसमा दुई जना नेपाली कामदारमाथि दुर्व्यवहार गरेको आरोपमा मालिक र म्यानेजर पक्राउ परेका छन् । साइप्रसको लिमासोल शहरमा रहेको एक फार्ममा काम गर्ने २ जना नेपाली कामदारहरुलाई, यातना दिइएको र अत्यन्तै खराब भौतिक र मानसिक स्थितिमा राखिएको पाइएपछि त्यहाँको पुलिसले फार्मका ५५ वर्षका मालिक र ३० वर्षका म्यानेजरलाई सोमबार पक्राउ गरेको साइप्रस मेलले जनाएको छ । म्यानेजर इजिप्टका नागरिक भएको समाचारमा जनाइएको छ । दुर्व्यवहारमा परेका नेपालीहरु २० र २१ वर्षका युवा हुन् ।

पक्राउ परेका मालिककी श्रीमतीले भने नेपाली कामदारहरु निकै राम्रो वातावरणमा बसिरहेको दावी गरेकी छिन् । ‘उनीहरु आफूहरुसँग काम भएकोमा धेरै खुसी थिए, खासगरी अहिले कोरोनाभाइरसको अवस्थामा । उनीहरु फार्ममै भएको घरमा बस्छन् जुन घर युरोपको स्तरको छ’ उनले ओमेगा टिभीसँगको कुराकानीमा भनिन् । एक जना नेपाली कामदारलाई चोटपटक लागेको विषयमा सोधिएको प्रश्नमा उनले ती नेपाली एक महिना अगाडि लडेको र आफ्नो परिवारले उनको उपचार गराएको बताइन् ।

मंगलबार साइप्रस न्यूज एजेन्सीले पीडित नेपालीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ती नेपालीले आफ्नो खुट्टामा गम्भीर चोट लागेको र अपरेशन नै गर्नुपरेको बताएका थिए । उनले आफूलाई तीन वर्षका इजिप्टका नागरिक म्यानेजरले ढुंगाले हानेको र त्यही ढुंगाले चोट लागेको बताएका थिए । जुलाइमा आफू त्यहाँबाट भाग्न खोज्दा म्यानेजरले ढुंगाले हानेको उनले बताएका थिए । यस विषयमा प्रतिक्रिया दिँदै बुधबार त्यहाँका पुलिस प्रवक्ता क्रिस्टस एन्ड्रयुले केस निकै गम्भीर भएको र अनुसन्धान सुरुवातमै रहेको बताएका छन् ।

एन्ड्रयुले सुरुवाती अनुसन्धानमा ती दुई जना (मालिक र म्यानेजर) घटनामा संलग्न रहेको देखिएको र अनुसन्धानका क्रममा थप सूचना आएमा अरुलाई पनि पक्राउ गर्न सकिने बताएका छन् । ‘पुलिसले तत्कालै प्रतिक्रिया दियो । ती दुई नेपालीको तत्कालै मानव तस्करीसम्बन्धी काम गर्ने अधिकारीहरुले बयान लिए किनकि ती दुई जना यही वर्गमा पर्ने देखिएको छ’ उनले भने । मंगलबार अदालतले २ जना आरोपीलाई ८ दिनको लागि पुलिस हिरासतमा पठाएको छ । फार्मको खाद्यान्न भण्डार स्थलमा ती दुई नेपालीलाई थुनेर राखिएको उजुरी परेपछि २ आरोपीलाई पक्राउ गरिएको थियो ।

ती नेपाली युवाहरुले पनि आफूहरुलाई म्यानेजरले कुटपिट गरेको र खानेकुरा बिना नै त्यहाँ राखेको बताएका थिए । मालिकलाई यसबारे बताए पनि उनले पनि केही नगरेको उनीहरुले बताएका थिए । पुलिसका अनुसार ती दुई नेपालीहरुलाई उनीहरुको इच्छा विपरित त्यहाँ राखिएको पाइएको छ । उनीहरुको शरीरभरी चोट पाइएको पुलिसले बताएको छ । उनीहरुलाई लिमासोलको जनरल अस्पतालमा उपचार गराएपछि मानव तस्करी र श्रम शोषणका पीडितको रुपमा पहिचान गरी सुरक्षित स्थानमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *