गरुडा प्रकरणः रौतहटका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए

डिसी नेपाल
१८ भदौ २०७७ १७:४०

काठमाडौं। रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा प्रहरी नीरिक्षकसहित तीन जना प्रहरी अनुसन्धानका लागि निलम्बनमा परेको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनको काज सरुवा गरिएको हो।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार एसपी खड्काको बिहीबार काज सरुवा भएको हो। डीआईजी सिंहका अनुसार खड्काको ठाउँमा एसपी सिद्धविक्रम शाहलाई जिम्मेवारी दिइएको छ। तीन दिनअघि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए। गृह मन्त्रालयले इन्‍सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको छ।

जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै १९ बर्षीय विजय रामलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो। घटनाको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको आदेशमा गरुडा पुगेका इन्सपेक्टर सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिँहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको आरोप लागेको छ।

सोही आरोपमा उनीहरुलाई अनुसन्धानका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ। सो घटनामा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानविन गरिरहेको छ। गरुडामा अहिले डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *