रुपन्देहीमा एकै दिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु

डिसी नेपाल
१९ भदौ २०७७ १५:४१

रुपन्देही। रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ। दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए। मिर्गाैलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ।

यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो। यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *