‘कोरोना पोजिटिभ भएकी छु, टिकटक बनाएर समय विताउँदै छु’
वाशिङ्टन। म चार महिनादेखि घरमा बसिरहेकी थिए । घटनाक्रम त्यति लामो त छैन। मेरो कोलोन्स्कोपीको एक्स रे गर्नका लागि अगस्ट ३१ मा समय तालिका मिलाएकी थिएँ। तर त्यो जाँच गराउनका लागि मैले कोरोनाको जाँच गर्न जरुरी थियो। मैले कोरोना लागेरभन्दा पनि त्यो जाँचका लागि कोरोनाको टेस्ट गराएकी थिएँ। म मा त्यस्तो कुनै लक्षण नै थिएन। जब कोरोनाको टेस्ट गराएँ त्यसपछि छोरोले सोध्यो, ‘कि तपाईंलाई कोरोना त लागेको छैन ?’
हुन त कोरोना भएको वा नभएको भन्ने कुराको जानकारी न आउने अबधि बीचमा मलाई २ पटक ज्वरो आइसकेको थियो । ज्वरोको मात्रा १०० डिग्री फरेनहाइट भन्दामाथि त थिएन । यो बेला मलाई जिउ दुखेको जस्तो हुन्थ्यो । कमजोर महशुश हुने गर्थ्यो । श्वासप्रश्वास छिटो छिटो भएको हो कि जस्तो लागेको थियो । पेटमा भोक लागे पनि खान मन नलाग्नेजस्ता लाक्षणहरु चाहिँ थिए ।
टि.भी, अनलाइन पत्रपत्रिकामा सुनेको, देखेको, पढेको र डाक्टरहरुले भने बमोजिमका कोरोनाका लक्षणहरु म मा भए पनि मलाई कोरोना लाग्दैन भन्ने कुरामा म बिस्वस्त थिएँ । एउटा अन्तर्वार्ता चलिरहेको थियो मेरो, मैंले आफैंले बनाएको नेपाली फिल्म ‘लक्का जवान’बारे । त्यहीबेला मेरो उपचारमा संलग्न डाक्टरले फोन गरिन् । अन्तर्वाता रोकेर फोन उठाएँ । डाक्टरले भनिन, ‘यू आर कोरोना पोजेटिभ’ मलाई विश्वास नलागेर फेरि सोधेँ, ‘आर यू स्योर?’
उनले फेरि स्पष्ट गर्दै भनिन्, ‘यस यू आर कोरोना पोजेटिभ’ ।

मलाई अझै विश्वास थिएन वा विश्वास गर्न मन लागेन कि मलाई कोरोना भएको छ । किनकि म मा खासै धेरै लक्षणहरु थिएनन् ।
हामी परिवारका ४ सदस्य । श्रीमान ( ध्रुव वन्त) छोरा र छोरी । एकै घरमा बसोबास गर्छौ । श्रीमानले पनि चेक गराउनु भयो । उहाँको नेगेटिभ छ । छोराछोरी पनि नेगेटिभ नै छ । मलाई कहाँबाट सर्यो थाहा छैन । म आफ्नै पसलमा पनि जाने गर्थे । पसलका सबैलाई चेक गर्न अनुरोध गरें । उनीहरुको पनि नेगेटिभ नै छ । यो रोग कहिले र कसरी सर्छ पत्तो नै नहुँदो रैछ ।
कोरोनाको सुरुवातको दिनहरुमा सार्है डर लाग्थ्यो । डर हुँदाहुँदै पनि केही न केही परिरहन्छ र बाहिर जानु पर्छ । बाहिर जाँदा माक्स छोडेकी थिइनँ । स्यानिटाइजरको प्रयोग पनि गरेकै थिएँ । यति हुँदा पनि म कोरोना संक्रमितको लिस्टमा नाम लेखाउन पुगें ।
त्यसैले सबैलाई मेरो अनुरोध यो छ कि कोरोना सकिएको छैन । यसलाई बेवास्ता नगरौं । आफूले सतर्कता अपनाउन जरुरी छ । यो रोगले मान्छेको शरीरअनुसार संक्रमण गर्ने रहेछ । मलाईचाँहि लाग्दैन म बलियो छु भनेर यो भाइरसलाई बेवास्था नगरौ तपाईंको कारण अरुलाई असर गर्न सक्छ ।
अहिले मेरो दिनचर्या फेरिएको छ । घरको एक कोठा मेरो लागि छुट्याइको छ । श्रीमानले खाना बनाएर दिनुहुन्छ र छोराको निगरानीमा बसेकी छु । कोठामा बस्ता बस्ता वाक्क लाग्छ र घरी टिकटक बनाएर बस्छु, घरी करेसाबारीमा घास काट्न जान्छु । मेक अप गरेको दिन एकै दिन ५—६ वटा टिकटक बनाउँछु । र समय मिलाएर पोस्ट गर्दै जान्छु । कोठा सफा गर्ने गीत सुन्ने गर्दै समय ब्यतित गरिरहेकी छु ।
(डिसी नेपालका सन्देशकुमार खड्कासंगको कुराकानीमा आधारित । अनसुया श्रेष्ठ वन्त, नेपाली फिल्म लक्का जवानकी निर्मात्री हुन्, उनी अमेरिकाको बाल्टिमोरको नेपालीहरुको साझा संस्था बानकी पूर्व अध्यक्ष पनि हुन् । )
No ads found for this position

डिसी नेपाल
Facebook Comment