अमेरिकाज क्षेत्रीय तथा विज्ञ सम्मेलन सम्पन्न, प्रवासी विज्ञतालाई नेपालले चिन्न सके फलदायी

डिसी नेपाल
२३ भदौ २०७७ ९:५४

टोरोन्टो, क्यानडा। ८ बुँदे टोरोन्टो घोषणापत्र जारी गर्दै ३ देखि जारी गैरआवासीय नेपाली संघ अमेरिकाको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलन सकिएको छ। एनआरएनए क्यानडाले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको यस्तो सम्मेलनबाट प्रवासी सिप र क्षमतालाई पहिचान गरी सही ढंगले सदुपयोग गर्न सकेमात्र पनि नेपाल सरकारलाई राष्ट्रिय विकासमा ठूलो सहयोग पुग्ने विज्ञहरुले सुझाव दिएका छन्।

उद्घाटन समारोहको मञ्चमा महिला सहभागिता नभएको भन्दै विवादसमेत भएको सो सम्मेलनमा विगतको भन्दा ३५ प्रतिशत बढी महिलाको सहभागिता बढेकोमा अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा खुशी व्यक्त गरेका थिए।

महिला हरुको सहभागिता लाई बढाउनका लागि एनआरएनले महत्वपूर्ण भूमिका खेलेको कुरा यसपटकको सहभागितले प्रष्ट पारेको उनको दावी थियो। उद्घाटन समारोहको मञ्चमा पदीय हैसियतले प्रतिनिधित्व हुँदा परराष्टमन्त्री, नेपाली कांग्रेसका सचेतक, एनआरएनए का अन्तर्राष्टिय अध्यक्ष, कार्यक्रम संयोजक सबै पुरुष परेको वाध्यात्मक अवस्थाबारे बताउँदै उनले महिलाहरुप्रति एनआरएनएको उच्च सम्मान रहेको र यही सम्मेलनका विभिन्न फोरमका विभिन्न प्रस्तुतिमा महिलाहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिएका थिए।

सोही समापन समारोहमा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्टिय समितिका अध्यक्ष कुमार पन्तले पूँजी लगानीका थुप्रै कुराहरु संघले गरिसकेको अब ज्ञान सिप र प्रविधिका कुराहरु गर्दै जन्मभूमि नेपाललाई सहयोग गर्ने बेला आएको कुरा उल्लेख गरे। पन्तले राजनीति गर्ने भन्दा बिशुद्ध सामाजिक सेवालाई प्रथमिकतामा राखेर अघि बढ्दै, दोस्रो विज्ञ सम्मेलनले तयार पारेको दस्तावेज नेपाल सरकार र योजना आयोगलाई अति नै सहयोग हुने कुरामा जोड दिए।

त्यस्तै ३ दिनसम्म चलेको सो विज्ञ बेलाको समापन समारोहमा केन्द्रीय महासचिव हेमराज शर्माले परिवर्तन होइन रुपान्तरणको नीति लिएर अगाडि बढेको संघलाई सबै तह र तप्काबाट सहयोग हुने कुरामा विश्वास ब्यक्त गरे।

भर्चुअल रुपमा अमेरिकी क्षेत्रमा लामो समयदेखि विज्ञता हासिल गरेका नेपाली विज्ञहरुले प्रवासको सिप, ज्ञान, पूजी र प्रविधिलाई राष्ट्रिय योजनामा समावेश गरेर लैजान सके नेपालको सामाजिक, आर्थिक लगायत थुप्रै क्षेत्रको विकासमा सहयोग पुग्नेमा जोड दिएका छन्।

सम्मेलन समापन समारोहलाई सम्वोधन गर्दै क्यानडाका लागि नेपाली राजदूत तथा क्षेत्रीय भेला समापन समारोहका प्रमुख अतिथि भृगु ढुंगानाले प्रवासमा रहेका नेपालीहरुको सीप, पुंजी, प्रबिधिजस्ता कुराले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका अहिले पनि खेल्दै आएकाले यसलाई नेपाल सरकारले पनि उच्चरुपमा लिएको र भविष्यमा यो एउटा कोसेढुंगा सावित हुने बताए।

सेप्टेम्वर ४, ५ र ६ गरी तीन दिनसम्म चलेको सम्मेलनको दौडानमा बिभिन्न विषयमाथि बिभिन्न विधामा विज्ञहरुका ज्ञान सम्बन्धि कार्यपत्र सन्चालन भएका थिए। सम्मेलनबाट आएको विज्ञहरुको विचारहरुलाई समेटेर जारी गरिएको टोरोन्टो घोषणापत्र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजक एनआरएनए क्यानडाले जनाएको छ।

उत्तरी अमेरिकाका आरसी राजन त्रिपाठीको अध्यक्षमा डिआरसी राम पोखरेल, युवा संयोजक विमला सापकोटा महिला संयोजक उमा कार्की थापा तथा आईसीसी सदस्य गोपीकृष्ण काफ्ले आयोजक राष्ट्रबाट कोअर्डिनेटर तथा एनआरएन क्यानडाबाट चिरञ्जीवी घिमिरे तथा अमेरिका बाट सुनिल शाह लगायत सबै आईसीसी कमिटीका सदस्य राखिएको थियो।

दोस्रो विज्ञ सम्मेलनका लागि संयोजकमा डाक्टर लक्ष्मी पाठक तथा उपसंयोजकमा अमेरिकाबाट डाक्टर आमोद पोखरेल र खाध्य वैज्ञानिक नारायण घिमिरे रहनुभएको थियो। कार्यक्रममा बिभिन्न नौ वटा कमिटीहरू बनाइएका थिए।

जस अन्तर्गत मिडिया कोअर्डिनेटरमा गोपी कृष्ण काफ्ले, पब्लिक रिलेसनमा ढुण्डिराज पाण्डे, इभेन्ट कोअर्डिनेटरमा एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे तथा एनआरएन क्यानडा रजिष्ट्रेशनमा रविन्द्र घिमिरे, स्वयंसेवकमा अभिमन्यु बस्नेत, कृष्णा शर्मा काफ्ले, फाइनान्स होमनाथ गौतम, आईटी कमिटीमा राजन त्रिपाठी र मणि पनेरु नेपाली रहेका थिए।

उद्घाटन समारोहको मञ्चमा महिला अतिथि नभएको विषयले विवादको रुप लिएको सो सम्मेलनमा ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एनआरएनए क्यानडालाई सहभागी सवै अतिथि एवं सहभागी विज्ञहरुले धन्यवाद दिएका छन्। सम्मेलनको समापन कार्यक्रमको संचालन आयोजक एनआरएन क्यानडाका महासचिव पिताम्वर भट्टराईले गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *