नुवाकाेट प्रवेश गर्ने नाका क्षेत्रमा निषेधाज्ञा थप

डिसी नेपाल
२४ भदौ २०७७ ६:४१

विदुर। अनाधिकृत रुपमा आवातजावत भई कोरोना संक्रमण बढ्न सक्ने जोखिम न्यूनीकरणको लागि जिल्ला प्रवेश गर्ने नाकाहरुका क्षेत्रमा निषेधाज्ञा थप गरिएको छ।

बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुवेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।

यस्तै शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाको पासाङ ल्हामुमार्ग हुँदै जिल्ला प्रवेश गर्ने वडा नं १ र २ का क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम हिजो भाद्र २३ गते राति १२ बजेदेखि भाद्र ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए।

निषेधाज्ञाको नियम उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल र औषधि पसल बाहेक अन्य किसिमका सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न रोक लगाएको छ। तर खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने छ।

औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाएको छ।

एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्तसवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन गर्नमा रोक लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *