हिरासतमा थुनुवाको मृत्यु प्रकरणः एसपीसहित ६ प्रहरीविरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता

डिसी नेपाल
२४ भदौ २०७७ १७:३२

काठमाडौं। रौतहटको गरुडाका १९ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको विषयलाई लिएर पीडित पक्षबाट तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जना प्रहरीविरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा मुद्दा दर्ता भएको छ।

तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध बुधबार मुर्दा दर्ता भएको हो।

विजयरामको बुबा पनिलाल महरा चमारले एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका हुन्।

एसपी खड्कालाई १८ भदौमा काज सरुवा गरिएको छ। यस्तै, इप्रका गरुडाको प्रमुखको जिम्मेवारी खोसेर डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ। हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ। त्यस्तै इन्सपेक्टर सिंह र हवल्दारद्वय सिंह र धुनियालाई ६ महिनाको लागि गृह मन्त्रालयले १६ भदौमा निलम्बन गरेको छ।

गरुडाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल रौतहट प्रहरी प्रमुखमा एसपी सिद्धिविक्रम शाह खटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *