कोरोनादेखि डराउन छाडे मानिस, बढ्न थाल्यो भीडभाड

धनकुमार कार्की
२६ भदौ २०७७ १४:०१

मोरङ। विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसबाट संसारभरीकै मानिसहरुको जनजीवन प्रभावित भइरहेको छ। नेपालमा पनि कोरोनाको जोखिम बढिरहेको छ।
मोरङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ। संक्रमण बढिरहँदा प्रशासनले निषेधआज्ञा खुकुलो गरेसँगै कोरोनादेखि मानिसहरु डराउन छाडेका छन्।

यहाँका सार्वजनिक स्थान तथा हाटबजारहरुमा अत्याधिक रुपले भीडभाड बढेको छ। भीडभाडमा मास्कको प्रयोग नगर्ने, ससाना बालबालिकालाई पनि भीडभाडमा लैजाने जस्ता क्रियाकलापहरु बढेका छन्। यो वैश्विक महामारीको स्थितिमा पृथ्वीमा रहेका हरेक व्यक्ति पूर्णत सुरक्षित नभएका बेला अपरिचित वा टाढाका व्यक्तिबाट मात्र कोरोना फैलन्छ कि भन्ने भ्रम स्थाथीयले पालेका छन्।

निषेधआज्ञाका कारण सर्वसाधारणको दैनिक जीवनयापन कठीन हुन थालेपछि प्रशासनले निष्ोधआज्ञा खुकुलो बनाएसँगै बढ्दो भीडभाडका कारण संक्रमण झनै बढ्ने आशंका गरिएको छ। बिहीबार रंगेली नगरपालिका– १ ववियाबिर्तामा मानिसहरुको निकै चाप देखिन्थ्यो। झट्ट हेर्दा कुनै मेला जस्तो देखिन्थ्यो, नभन्दै त्यो हाट लागेको रहेछ। हाट अरु बेला जस्तै सामान्य चलिरहेको थियो।

मद्यपान बेच्नेदेखि चटपटे बेच्ने पसलहरुमा एकदमै भीड थियो। त्यस हाटमा न सामाजिक दूरी कायम गरिएको छ, न त कसैले मास्क नै लगाएका छन्। सबै आ–आफ्नै सुरमा चलिरहेका थिए। धेरैले त स—साना बच्चा समेत साथै लिएर आएका थिए।

विश्व स्वास्थ्य संगठनले बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई कोरोनाको जोखीमको सूचिमा राखेको छ। साथै अहिलेको अवस्थामा कोरोनाबाट बच्ने सरल विधि मास्क लगाउनु, शारीरिक दुरी कायम गर्नु भनेको छ। तैपनि मोरङको अधिकांश स्थानहरुमा अव्यवस्थित हाट लाग्ने गरेको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रङगेली नगरपालिका, धनपालथान गाउँपालीका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिका जहदा गाउँपालिका आदिका हाट लाग्ने स्थानहरुमा सम्बन्धीत निकायलाई समेत बेववास्ता गरी हाट लाग्ने गरेको हो।

भारतसँग खुला सिमानामा जोडिएका दक्षिणका अधिकांश स्थानहरु आफैमा जोखिमपूुर्ण रहेका बेला यसरी दैनिक उपभोग्य सामानहरु लिने स्थानमा नै भीडभाड गर्न दिनुले अझै जोखिम थपिदिएकाले स्थानीय त्रसित भएर किनमेल गर्न बाध्य छन्। एकातिर भारतबाट संक्रमितहरु छिर्ने डर अर्कातिर दैनिक छाक टार्नुपर्ने पिर परेकाले समस्यामा परेको स्थानीय बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *