हात मुख जोड्ने चिन्ताले सताइरहेका बेला जब घरमा चामलको बोरा पुग्यो

डिसी नेपाल
२७ भदौ २०७७ २३:४७

सप्तरी। कञ्चनरुप नगरपालिका– ९ की उर्मिला मगरको घरमा शनिबार चामलको बोरा झरेपछि उनी रुन थालिन्। यो खुशीको आँशु थियो । कोभिड–१९ को महामारीका कारण घरमा अन्न सकिएर खान धौ–धौ परेका बेला आइपुगेको अन्नको पोका देखेर उनी रुन थालेकी हुन्। चामल, दाल, तरकारी, नुन, तेलसहित राहतको पोका झारेको फुड बैंकको टोलीका युवाले ‘नरुनु आमा हामि छौं नि’ भनेपछि उनी झनै भक्कानिएर रुन थालिन्।

“केही नहुनेलाई आफ्नो छोराछोरी झै घरमै अन्न ल्याउनुभयो, यहाँहरुको सधैं भलो होस्”, जेष्ठ नागरिक मगरको आशिर्वाद पाएपछि टोली अगाडि बढ्यो । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले फुड बैंक स्थापना गरी तीन सातादेखि राहत वितरण गरिरहेको छ । कञ्चनरुप–१२ रुपनगरस्थित समूहले लकडाउनका कारण हातमूख जोर्न समस्यामा परेका अतिविपन्न घर परिवारलाई आज तेस्रो साताको खाद्यान्न राहत वितरण गरेको हो ।

पहिलो दिन ४५ परिवारलाई राहत वितरण गरेको उक्त समूहले गत साता ९५ विपन्न परिवारलाई र शनिबार ४६ जनालाई राहत वितरण गरेको समूहका अध्यक्ष डम्बर राईले जानकारी गराए। शनिबार राहत पाउने पवित्रा बन्जाराले पनि टोलीका सदस्यलाई दुवै हात टाउकामा राख्दै आशिर्वाद दिइन्। पीडितको आर्शिवाद र सहयोगीको प्रोत्साहनले नै यो अभियानले निरन्तरता पाउने कुरामा विश्वस्त रहेको समूहकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोमा लम्सालले बताइन्।

सो नगरपालिकामा फुड बैंक सञ्चालनमा आएको खबर फैलिएसँगै पीडितहरु खोज्दै आइपुग्ने गरेको कार्यक्रम संयोजक लम्सालले बताइन्। फुड बैंकमा गए राहत पाइन्छ भनेर छिमेकीले बताएपछि फुड बैंक खोज्दै पुगेको र राहत लिएर घर फर्किएको इन्दिरा परियारले बताइन्।
उनको घरमा चामल सकिएको दुई दिन भएको थियो । छिमेकीबाट पिठो मागेर रोटी पकाई छोरोछोरीलाई खुवाएको र आफूले च्युरा भिजाएर खाएको बताँदै परियारले लकडाउनले काम पनि पाउन छाडेको बताइन्। फुड बैंकबाट राहत पाएपछि एक महिनालाई ढुक्क भएको उनको भनाइ थियो।

“लामो समयदेखिको लकडाउन र निषेधाज्ञाले विपन्न मजदुरको अवस्था दयनिय बन्दै गएकाले नागरिक समाजको भूमिकाको आवश्यक्ता थियो”, समूहका सल्लाहकार उत्तम आचार्यले भने, “आवश्यक्ताले सोंच बन्यो र धेरै जनाको सोंच तथा चाहना मिलेपछि अभियान बन्यो ।”

यो अभियानमा कसैले नगद त कसैले खाद्यान्न उपलब्ध गराएर सहयोग गरिरहेको छ । सप्तरीसहित काठमाडौं, कैलाली, उदयपुर, पर्सा, बैतडी, मोरङ, नुवाकोट, सुनसरी तथा वैदेशकि रोजगारमा कतार, मलेशिया, अमेरिकामा बसेकाले समेत सहयोग गरिरहेको समूहले जनाएको छ ।

काम गर्दै गएपछि अभियानमा निकै सहयोगी हात जुट्न थालेका छन् । अन्य ठाउँमा गएर बसेका जिल्लावासी र अन्य जिल्लावासीबाट समेत सहयोग जुट्न थालेकाले तीन सातामै करिब दुई सय विपन्न परिवारलाई राहत बाँडन सकेको कोषाध्यक्ष अनील पोखरेलले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *