विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदै

डिसी नेपाल
२८ भदौ २०७७ १४:०९

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ। प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ भदौ २९ मा नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आजबाट सकिँदैछ।

उनी प्राधिकरणबाट आजै विदाइ हुँदैछन्। सरकारले प्राधिकरणमा कसलाई ल्याउने भन्ने निर्णय गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकका बारेमा निर्णय गर्ने मन्त्रिपरिषद स्रोतले जनाएको छ।

प्राधिकरणको आगामी चार वर्षे कार्यकालका लागि पुनस् कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोतले बताएको छ। उनको कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि सामाजिक सञ्जालमा घिसिङलाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने जोडदार माग उठिरहेको छ। ऊर्जा मन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा रहेको बुझिएको छ।

२०७३ भदौमा कार्यकारी निर्देशकमा रूपमा प्राधिरकणमा प्रवेश गर्दा १८ घण्टासम्मको लोडसेडिङ थियो। उनले पदबहाली गरेको करिब दुई वर्षमा लोडसेडिङ हटेको थियो।

यस्तै, वार्षिक ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले ११ महिनामै घाटा हटाउँदै एक अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसपछि गत आर्थिक वर्ष २०७६र०७७ सम्म प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा गएको छ।यस्तै, विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत काम भएका थिए।

नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ ले प्राधिकरणको कार्य सञ्चालनको निमित्त मुख्य प्रशासकीय अधिकृतको रूपमा समितिले एक जना महाप्रबन्धक र आवश्यकता अनुसार सल्लाहकार र कर्मचारी नियुक्ति गर्न सक्ने व्यवस्था छ।

तर, साधारण सभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रूपमा नेपाल सरकारले एक जना कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। सोही बमोजिम ऊर्जा मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिाषद्को बैठकमा प्रस्ताव गर्नेछ र मन्त्रिपरिषद्ले नियुक्ति दिने प्रावधान छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *