राष्ट्रपतिलाई भेटेर उद्योगीले भने : अर्थतन्त्र चलायमान हुने वातावरण होस्

डिसी नेपाल
२८ भदौ २०७७ २०:५२

काठमाडौं। उद्योगी व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा हटाएर व्यवसाय तथा बजारहरु सञ्चालन गर्न माग गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर व्यवसायीहरुले लकडाउन वा निषेधाज्ञा बाहेकका विपल्पहरु अवलम्बन गरी संक्रमण रोकथाम गर्न आग्रह गरे।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसँग भएको भेटमा विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो।

छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यस अघि पनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधीभन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेका छन्। यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको छ।

छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मज्दुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउनका लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको बताए। उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागिसमेत उनीहरुले अनुरोध गरेका छन्।

कोभिडको महामारीबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपति समक्ष जानकारी गराएका थिए। पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नका लागि राष्ट्रपति समक्ष अनुरोध गरिएको छ। कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टिनको व्यवस्थालाई परिमार्जन गरी तीनदिनको क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने र तीनदिनको क्वारेन्टिन पछि सम्बन्धित पर्यटकको पीसीआर टेष्ट गरी नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा छलफल भएको छ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र कोभिडको महामारी पछि एकदमै गम्भिर परिस्थितिबाट गुज्रिरहेको राष्ट्रपति समक्ष जानकारी गराउँदै उनीहरुले आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनका लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्दगर्नु पर्ने धारणा राखेका छन्। यदि कुनै क्षेत्रमा संक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नुपर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध परिसंघले गरेको छ।

संक्रमणलाई रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गर्नुपर्ने धारणा परिसंघको थियो। यसका लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टिन र आइसोलेशनका सेवाहरु निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइ दिनका लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ।

छलफलमा राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मक रुपमालिई त्यसको कार्यान्वयमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेकी छन्। परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलिमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *