२०२० को ८ महिनामा पौने दुईलाख पर्यटक नेपाल आए

डिसी नेपाल
२९ भदौ २०७७ ०:००

काठमाडौं। कोरोना महामारीका बीच नेपालमा २०२० को ८ महिनामा पौने दुईलाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागका अनुसार गत जनवरीदेखि अगस्टसम्म १ लाख ७७ हजार ६७५ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार यो अवधिमा नेपाल घुम्न आउने विदेशी पर्यटकहरु मध्ये धेरै भारतीय रहेका छन्। जनवरीमा भारतबाट १६ हजार ८०० पर्यटक नेपाल आएका छन्। यस्तै फेबु्रअरीमा ६ हजार २२५ भारतीय नेपाल आए भने, मार्चमा ६ हजार ७५३ जना भारतीय पर्यटक नेपाल आएका थिए। यस्तै अप्रिलमा २ जना, मेमा ७ जना, जुनमा २६, जुलाईमा ४१ र अगस्टमा २३ जना भारतीय पर्यटक नेपाल आएका थिए।

कोरोना महामारीका कारण मार्चमा नेपालमा लकडाउन घोषणा गरिएपछि पर्यटकहरुका लागि नेपाल आउने बाटोमा ताला लागेको थियो। तर, पनि छिटपुट रुपमा केही पर्यटकहरु नेपाल आएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

गएको फेब्रुअरीमा नेपाल आउने पर्यटकको कुल संख्या ७७ हजार ६४ थियो भने मार्चमा यो संख्या घटेर ३४ हजार २५ मा सिमित भयो। त्यसपछि लकडाउनको प्रभाव परेको हो।

यो अवधिमा विभिन्न १३ देशका पर्यटकहरु नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार मेमा ३०, जुनमा १००, जुलाईमा १९५ र अगस्टमा ३० जना विदेशी पर्यटकहरु नेपाल आएका थिए।

नेपाल आउने भारतबाहेक अन्य देशका पर्यटकहरुमा अमेरिका, बेलायतलगातका छन्। नेपालमा गत वर्षको यही अवधिमा ७ लाख ३९ हजार पर्यट आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *