शान्ति सेनामा लिबिया जाने ३ दर्जन सैनिक कोरोना संक्रमित, अन्तिम समयमा उडान रोकियो

डिसी नेपाल
२९ भदौ २०७७ १३:०९

काठमाडौँ। शान्ति मिसनमा लिबिया प्रस्थान गर्न लागेका नेपाली सेनाका ३५ भन्दा बढी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि लिभिया प्रस्ताथ गर्ने उडान अन्तिम समयमा स्थगित भएको छ।

उडान भर्नु भन्दा ७२ घण्टा अगाडि गरिएको पीसीआर परीक्षणमा ३५ जना सैनिकमा कोरोना पोजेटिभ देखिएपछि आज (सोमबार) हुने तय भएको उडान स्थगित भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष वल्लव पौडेलले जानकारी दिए।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई संक्रमण पुष्टि भएको हो।

राष्ट्र संघको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो। त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सन् २०१६  देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन्।

नेपाली सेनाले शान्ति मिसनमा पठाउने सैनिक भन्दा दश प्रतिशत बढीलाई तयारी अवस्थामा राखेको हुन्छ। तर ३५ जना भन्दा बढीमा कोरोना पुष्टि भएपछि दशप्रतिशत थप गर्दासमेत निर्धारित संख्या पुग्न नसकेपछि उडान स्थगित गरिएको छ। ११६ सैनिक लिभिया मिशनमा पठाउने तयारी भएको थियो। लिबियाको लागि सिधै उडान छैन।  यहाँबाट ट्यूनिसियासम्म जहाज र त्यँहाबाट स्थलमार्ग हुँदै लिबिया जानुपर्छ।

लिबियामा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनामात्र खटिँदै आएको छ।  कोरोना पोजेटिभ भएका सैनिकलाई आइशोलेशनमा राखिएको छ भने अन्य सैनिकलाई क्वारेन्टाइनमा राखिएको नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *