कुलमान घिसिङको भाग्यको फैसला आज दिउँसो १२ बजे !

डिसी नेपाल
१ असोज २०७७ १०:५२

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट यही आइतबार अवकाश पाएका कुलमान घिसिङको पुनः नियुक्तिबारे आज फैसला हुनेछ । आज दिउँसो १२ बजे मन्त्रिपरिषद बैठक बस्दैछ र सो बैठकमा उनको पुनः नियुक्ति गर्ने वा नगर्ने भन्ने छिनोफानो हुने अपेक्षा गरिएको छ । यद्यपि उनको पुनः नियुक्तिको औपचारिक निर्णय भने आजै हुने सम्भावना कम छ ।

आजको बैठकका एजेण्डाबारे डिसीनेपालसँग कुरा गर्दै एक मन्त्रीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको एजेण्डा आजको बैठकको लागि तय नभएको बताए । मन्त्रिपरिषद बैठक बस्नुअघि सबै मन्त्रीहरुलाई बैठकमा छलफलका लागि तय गरिएका एजेण्डाको सूची पठाइन्छ । सो सूचीमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तिको एजेण्डा नभएको मन्त्रीले नै बताएसँगै आजै त्यो विषयमा औपचारिक निर्णय हुने सम्भावना रहँदैन । तर, यो विषयमा अनौपचारिक छलफल भने हुन सक्छ ।

ऊर्जा मन्त्री सचिवालयले बिहीबार बिहान प्रतिक्रिया दिँदै कुलमानको पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकका लागि पठाइएको जानकारी दिएको छ । मन्त्रिपरिषदमा यसरी प्रस्ताव गएको भए पनि सो विषयमा मन्त्रिपरिषदमा छलफल हुन्छ नै भन्ने छैन । प्राथमिकताका आधारमा कुन विषय कहिलेको बैठकमा छलफल गर्ने भनेर मन्त्रिपरिषद सचिवालयले एजेण्डा तय गर्छ । यही कारण प्रस्ताव मन्त्रिपरिषदमा पुगेर रोकिएको हुन सक्छ ।

आजको मन्त्रिपरिषद बैठकमा यो विषयले अनौपचारिक रुपमै प्रवेश पाएको अवस्थामा कुलमानको पुनः नियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा मौखिम सहमति बन्न सक्छ । यदि उनको पक्षमा मौखिक सहमति बनेको खण्डमा अर्को बैठकको लागि उनको पुनः नियुक्तिको प्रस्ताव तय हुन सक्छ । मौखिक सहमति बनिसकेको अवस्थामा अर्को बैठकबाटै उनको पुनः नियुक्तिको औपचारिक निर्णय हुने सम्भावना रहन्छ ।

कुलमानको पुनः नियुक्ति हुने वा नहुने भन्ने छिनोफानो आजै हुने सम्भावना यसकारण पनि छ कि आजको बैठक कुलमानको कार्यकाल सकिएपछिको दोस्रो बैठक हो । कुलमानको कार्यकाल आइतबार सकिएपछि त्यसको भोलिपल्ट सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गरिने अपेक्षा गरिएको थियो तर त्यो बैठकमा यो विषय एजेण्डामै परेन । आजको बैठकमा पनि कुलमानको पुनः नियुक्तिको विषयमा कुनै सहमति नबने सम्भवतः उनी प्राधिकरण फर्किने सम्भावना लगभग सकिएको मान्नुपर्ने हुन्छ किनकि उही व्यक्तिलाई दोहोर्याउने निर्णय गर्नको लागि लामो समय कुरिराख्नुपर्ने ठूलो कारण देखिँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *