कमल थापाले गरे जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक

डिसी नेपाल
१ असोज २०७७ १८:४४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै देशभरका जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुसँग जोडिइरहेका छन्। केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका अध्यक्ष थापाले बिहीबार जिल्ला अध्यक्षहरुसँग भर्चुअल मिटिङ गरेका हुन्।

अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षहरुलाई जानकारी गराएका थिए। मुलुकमा राप्रपाले बोकेको एजेण्डाको आवश्यकता र औचित्य दिन प्रतिदिन बढिरहेको सन्दर्भमा पार्टीलाई जबर्जस्त ढंगबाट स्थापित गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै थापाले जनताबाट अनुमोदित भएर आउनको निमित्त संगठन निर्माणमा केन्द्रित हुन जोड दिए।

प्रजातन्त्रको सौन्दर्य फरक विचार भएकोले प्रजातन्त्रलाई मजवुद बनाउनको निमित्त फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने आवश्यकता औंल्याउदै अध्यक्ष थापाले राप्रपालाई शसक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने बताए। धर्म परिवर्तन, भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटना उन्मुख भएकाले देश जोगाउन र बनाउन राप्रपाको विकल्प नभएको सन्देश जनतामाझ पु¥याउन थापाले जिल्ला अध्यक्षहरुलाई आग्रह गरे।

बैठकमा जिल्ला अध्यक्षहरुले पार्टीलाई अगाडी बढाउनको निमित्त प्रतिबद्ध रहेको भन्दै सैद्धान्तिक र वैचारिक रुपमा चट्टानी दृढता रहेको विचार व्यक्त गरेका थिए। स्पष्ट विचार र अलग पहिचान सहितको दललाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी र निर्णायक बनाउन जिल्ला जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका थिए।

५१ जिल्लाका अध्यक्षहरु भर्चुअल बैठकमा सहभागी भएका र आगामी दिनमा यस्ता बैठकलाई अध्यक्ष कमल थापाले निरन्तरता दिनुहुने केन्द्रीय सचिबालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *