देउवा क्वारेन्टिन बसेपछि धकेलियो संवैधानिक निकायका पदाधिकारी नियुक्ति

डिसी नेपाल
२ असोज २०७७ १६:१५

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा घरकै सदस्यहरुलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिन बसेका छन्। घरका केही जनालाई कोरोना संक्रमण भएकाले सभापति देउवा घरमै क्वारेन्टिन बसेको देउवाका स्वकीय सचिब भानु देउवाले पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘घरमा केहीलाई कोरोना देखिएपछि दुई हप्ताका लागि उहाँ क्वारेन्टिन बस्नु भएको छ।’

सभापति देउवा क्वारेन्टिन बसेसँगै अबको कम्तिमा १५ दिनसम्म लामो समयदेखि रिक्त रहेका विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति रोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्ने तयारी गरेका थिए। सोही विषय टुंगो लगाउन बिहीबार सभापति देउवा र प्रधानमन्त्रीबीच छलफल हुने तय भएको थियो। तर, देउवा क्वारेन्टिन बस्नुपर्ने भएपछि बिहीबारको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो।

स्रोतका अनुसार पहिला अनौपचारिक रुपमा पदाधिकारीबारे टुंगो लगाएपछि संवैधानिक परिषदको बैठक बोलाउने प्रधानमन्त्री ओलीको तयारी थियो। बिहीबार देउवासँग छलफल हुन सकेको भए एक हप्ताभित्रै पदाधिकारी नियुक्त हुने सम्भावना थियो। तर, अब कम्तिमा १५ दिन संवैधानिक परिषदको बैठक नबस्ने प्रधानमन्त्री निकट स्रोतले जनायो।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेतृत्वबिहीन छ भने अन्य ३९ वटा पद रिक्त छन्। सरकारमाथि यी निकायहरुमा छिटो पदपूर्ति गर्नुपर्ने दबाब छ।

उता सभापति देउवा क्वारेन्टिन बस्ने भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक पनि तत्कालन नबस्ने देखिएको छ। आगामी फागुनमा महाधिवेशन गर्ने गरी क्रियाशिल सदस्यता वितरण नविकरणका कामहरु गरिरहेको काँग्रेसको तोकिएको मितिमा महाधिवेशन नहुने सम्भवना प्रवल हुँदै गएको छ। तर, सो विषयमा छिटै पार्टी केन्द्रीय कार्य समिति बैठकबाट सर्वसम्मत निर्णय लिइने नेताहरुले बताउँदै आएका थिए। तर, अब कम्तिमा १५ दिन काँग्रेस केन्द्रीय कार्य समिति र पदाधिकारी बैठक नबस्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *