सत्ता र शक्तिको आडमा निरीह नागरिकमाथि ज्यादती

तर्कबहादुर थापा
७ असोज २०७७ ८:५८

काठमाडौं। विकट जिल्ला अछाममा करिव ५२ वर्ष पहिलाजन्म हुन्छ नरबहादुर भण्डारीको। आफ्नो मेहेनत र पुर्खैली सम्पत्तिलाई मिलाएर काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको महालक्ष्मी नगरपालिकाभित्र सानो जमीन जोड्छन्। जमिन जोडेपछि १ तलाको घर बनाउँछन्। बुढाबुढी र छोरीहरुको सानो परिवार त्यही १ तलाको घरमा बस्न थाल्छन्।

२०७२ सालमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले पनि घरलाई केही असर गरेन्। काठमाडौं उपत्यकामा धेरै घरहरु माटोमा मिल्दा पनि नरबहादुरले श्रम र पसिना बगाएर बनाएको १ तलाको घरलाई भूकम्पले केही क्षति गर्न सकेन।

खुसी जीवन बिताइ रहेका नरबहादुरको जीवनमा मानवीय भूकम्प जान थाल्छ। पूर्वमन्त्रीका भाइसमेत रहेका नागेन्द्रप्रसाद साह उनका छिमेकी हुन् आउँछन्। २०७४ सालको चैत्र महिनाको २० गते छिमेकी हुन आएका साहले घर पनि बनाउन आवश्यक पर्ने छिमेकीको सर्जमिन मुचुल्का उठाउँछन। उत्तर र पूर्वमा बाटो रहेको साहको जग्गामा पश्चिमतर्फ नरबहादुर भण्डारी र दक्षिणतर्फ सिता गौतमको नाममा जग्गा छ। अनि नरबहादुरको पनि १ तलाको घर छ।

सर्जमिन मुचुल्कामा नरबहादुरले आफ्नो किर्ते हस्ताक्षर भएको बताए। उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘म घरमा नभएको बेला पारेर मुचुल्का उठाए छन्। मेरो हस्ताक्षर पनि किर्ते गरेका छन्।’ हरेक ठाउँमा हुने नरबहादुरको हस्ताक्षर भन्दा फरक भएको मुचुल्काको प्रतिलिपि उनले महालक्ष्मी नगरपालिकाबाट लिएर आफूसँगै बोकेर हिँडिरेहेका छन्। उनले मुचुल्का देखाउँदै भने, ‘यो हस्ताक्षर हेर्नुहोस्, अनि अरु पनि चेक गर्न सक्नु हुन्छ। यो मेरो हस्ताक्षर हुँदै होइन। यो किर्ते गरेको हो।’

साहले आफ्नो घर बनाउँन जग खन्नथालेपछि नरबहादुर डराउँछन्। जग खन्दा डोजर प्रयोग भएपछि नरबहादुरले आफ्नो घरलाई खतरा भएको महशुस गर्छन्। उनले जेसीवी लगाएर नखन्न आग्रह गर्छन्। साहले नरबहादुरलाई क्षति भएमा क्षतिपूर्ति दिन्छु भनि आश्वासन दिएछन्। दिन बित्दै जाँदा साहले आफूले गरेको बाचा भुले।

नरबहादुरको घरमा चिरा पर्न थाल्यो। नरबहादुुरले २०७५ सालको पुस २४ गते महालक्ष्मी नगरपालिका वडा नं. ५का वडाअध्यक्षलाई सम्बोधन गर्दै घर निर्माण रोक्न र आफ्नो घरमा भएको क्षतिको उचित क्षतिपूर्ति दिलाई दिन अनुरोध गरे। तर, वडा कार्यालयले कुनै कारवाही नगरेको उनको गुनासो छ।

‘वडा कार्यलयबाट कुरै नभएपछि म नगरपालिका पुगेँ,’ नरबहादुरले आखाँभरी आशुँ बनाउँदै भने, ‘नगरपालिकाले त केही गर्ला भन्ने सोचेर २०७५ सालको माघ २७ गते निवेदन दिएँ। कार्यालयमा निवेदन दर्ता पनि भयो। तर, निवेदन उपर कारवाही भएन।’

‘नगरपालिकामा भएको न्यायिक समितिमा त झन मैले पुस महिना कै २९ गते निवेदन दिएको थिएँ,’ नरबहादुरले भने, ‘न्यायिक समितले पनि त्यस उपर केही कारवाही गरेन। सुरु सुरुमा त केही गर्ला कि झैं लाग्थ्यो। तर, पछि गएर मेरो पार्टी फरक हो भन्ने थाहा भएपछि मेरो काममा आलटाल गर्न थालियो। मैले न्याय पाइँन।’

नरबहादुरले २०७५ सालको पुस २९ गते न्यायिक समितिमा दिएको निवेदन सोही दिन १०० रुपैयाँ दस्तुर समेत लिएर, ४३६५ नम्बरको अर्धकट्टी समेत दिएर दर्ता भएको छ। पुस २९ गते दिउँसो १२ः४५मा दर्ता नम्बर १९०१ मा दर्ता भएको नरबहादुरसँग भएका कागजातहरुले पुष्टि गर्छ।

‘मलाइ त त्यस अघि नै धम्क्याउन थालेका थिए,’ नरबहादुरले भने, ‘यिनीहरु त काटमार गर्न पनि पछि पर्दैनन् भन्दै केही उनीहरुकै तर्फका मान्छेले भन्न थालेपछि मैले पुस २४ गते महानगरीय प्रहरी प्रभाग इमाडोलमा शान्ति सुरक्षा चाहियो भनि निवेदन दिएँ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि शान्ति सुरक्षाको लागि पुस मै निबेदन दिएको हुँ।’

नरबहादुरसँग भएको कागजात अनुसार ७५ पुस २४ गते इमाडोल प्रहरीमा, त्यसपछि २०७६ जेठ ८ गते पुनः प्रमुख जिल्ला अधिकारी समक्ष पनि शान्ति सुरक्षाको अनुभूति गरिपाउँ भनि निवेदन पेस गरेका छन्। उक्त निवेदन जिल्ला प्रशासन कार्यालयमा जेठ ८ गते नै ५०४२ दर्ता नम्बरमा दर्ता भएको पाइएको छ।

कहीँकतैबाट उनलाई केही सहयोग नभएपछि पुनःनगरपालिका कै न्यायिक समिति समक्ष पुग्छन नरबहादुर। नगरपालिकाको न्यायिक समितिले २०७६ सालको जेठ महिनाको १३ गते ७८५९ नम्बरको अर्धकट्टीमा १०० रुपैयाँ दस्तुर बुझेर सोही दिनको ३ बजेर १२ मिनेटमा ३२८१ नम्बरमा निवेदन दर्ता गरेको छ। सोही महिनाको १५ गते पुनः नरबहादुरले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै नगरपालिकामा निवेदन दिएका छन्। सोही दिनमा ३६२८ दर्ता नम्बरमा उक्त निवेदन पनि दर्ता भएको छ।

त्यसपछि न्यायिक समितिले जेठ महिनाको १४ गते तारिख पर्चा जारी गरेको छ। तारिख पर्चामा असार ५ गते १० बजे छलफल हुने भनिएको छ। त्यसपछि असार १० गतेदेखि कात्तिक २८ गतेसम्म १२ पटक छलफलको लागि उपस्थित हुने भनि तारिखमाथि तारिख दिएको छ।

जेठ २७ गते नै महालक्ष्मी नगरपालिका भित्र क्रियाशिल विभिन्न समूहहरुले पनि नरबहादुरलाई छिमेकीले घर बनाउँदा घरमा क्षति भएको भनि प्रमाणीत गर्दै न्यायिक समितिलाई निश्पक्ष छानबिनका लागि अनुरोध पनि गरेका छन्। ती समाजले गरेको निर्णको प्रतिलिपी पनि नरबहादुरले साथैमा बोक्ने गरेका छन्।

यति धेरै पटक नगरपालिकाको न्यायिक समितिलाई अनुरोध गर्दा पनि नरबहादुरले न्याय नपाएपछि अदालतको ढोका ढकढक्याउने पक्षमा छन्। नगरपालिकाको न्यायिक समितिले भदौ ३० गते जिल्ला अदालत ललितपुरमा हाजिर हुनु होला भनि पठाएको छ।

न्यायिक समितिको पत्रमा भनिएको छ–असार २५ गते भएको छलफलले मेलमिलाप गराउन नसकेको र आवश्यक विवाद निरुपणका लागि जिल्ला अदालत ललितपुरमा हाजिर हुन जानुहोला।’

तर, महालक्ष्मी नगरपालिकाकी उपमेयर तथा न्ययिक समितिकी संयोजक समेत रहेकी निर्मला थापाले भने मेलमिलापको लागि धेरै कोशिस गरिएको तर दुवै पक्षको आफ्नो दम्भका कारण मेलमिलाप गराउन नसकेको दाबी गरिन्। उनले न्यायिक समितिलाई निवेदन दिएर प्रहरी चौकीमा गई २ लाख रुपैयाँको लेनदेनका साथ मिलेको तर, न्यायिक समितिलाई समेत अन्यौलमा राखेको बताइन्।

नागेन्द्र साह नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहका दाइ हुन्। बेला बेलामा पूर्व मन्त्री साहका स्वकीय सचिव गएर मिलापत्र गर्न भन्दै मानसिक दवाव दिएको नरबहादुरले बताए। ‘मलाइ बढी मानसिक दवाव दिएपछि मैले डिप्रेशनको औषधि नै सेवन गर्नु परेको थियो,’ भण्डारीले भने। भण्डारीले आफ्नो घर पुननिर्माणको खर्च दिनुपर्ने वा बिक्री गरिदिनुपर्ने अडान राखेका छन्।

याे विषयमा बुझ्न डिसी नेपालले नागेन्द्र साहलाइ सम्पर्क गर्दा याे विषयमा कुरा गर्न चाहेनन्।  उनले आफू व्यस्त रहेको भन्दै यो विषयमा कुरा गर्न अस्वीकार गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *