मन्त्रिपरिषद् पुनर्गठनका विषयमा अध्यक्षद्वयको छलफल, दुई वर्ष पूरा गरेकालाई बिदाइ गर्ने सम्भावना

डिसी नेपाल
१० असोज २०७७ १०:०१

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफललाई तीव्रता दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे बिहीबार र शुक्रबार छलफल गरेका हुन्।

पार्टीको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिका बारेमा टुंगोमा पुग्न गरेको आग्रहअनुसार उहाँहरुबीच दैनिकजसो छलफल भइरहेको छ। आइतबार र मंगलबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक आयोगमा रिक्त रहेका नियुक्तिका बारेमा टुंगोमा पुग्न आग्रह गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटवार्तामा ओली–दाहालबीच सचिवालय बैठकमा नेताहरूले मन्त्रिमण्डल पुनर्गठनका विषयमा धारणा राख्दै दिएको राय–सुझावका आधारमा छलफल हुँदै आएको नेकपा स्रोतको भनाइ छ। सचिवालय बैठकमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुनः समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरूलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने विकल्पमा छलफल भएको थियो।

भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पनि मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा निर्णय गरेको थियो। आवश्यक मापदण्ड बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपाले निर्णय गरे पनि कस्तो मापदण्डका आधारमा गर्ने भन्ने चाहिँ सार्वजनिक गरिएको छैन।

यद्यपि, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले तीनवटै तहका आगामी निर्वाचन, आर्थिक कूटनीति र वैदेशिक सम्बन्धलाई आधार बनाएर मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकाे नेकपा स्रोतको दाबी छ।आसन्न निर्वाचनलाई पार्टीको पक्षमा माहोल सिर्जना गर्ने, आर्थिक कूटनीतिमा दख्खल राख्ने र बिग्रिएको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारेर वैदेशिक सहायता ल्याउन सक्ने व्यक्तिलाई मन्त्रिमण्डलमा ल्याउने सम्भावना देखिएको बताए।

‘आगामी चुनावलाई मध्यनजर गरेर चुनावमा कसरी विजय हासिल गर्ने र त्यसका लागि कुन व्यक्ति क्षमतावान् लाग्छ उसलाई मन्त्रिमण्डलमा ल्याउँछन्, अबको ध्यान त्यता जान्छ,’ एक नेताले भने , ‘अर्को पछिल्लो समय वैदेशिक सम्बन्ध राम्रो छैन । डिप्लोमेसी मापन गर्ने हो भने हामी निकै तल छौं । नेपालसँग चिढिएका, कुँडिएका मित्र राष्ट्रहरूसँग सम्बन्ध सुधारेर आर्थिक कूटनीति बलियो बनाउन सक्ने र वैदेशिक सहायता ल्याउन सक्नेलाई मन्त्रिपरिषद्मा ल्याउनुपर्छ।’

उनले अहिलेको अवस्थामा सुशासन कायम गर्न सक्ने, शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्ने र आमनागरिकको जनजीवनलाई सहज बनाउन सक्ने क्षमतावान् व्यक्तिको मन्त्रिमण्डलमा खाँचो रहेको पनि बताए। तर, मन्त्रिमण्डल पुनर्गठन गर्दा अहिलेको मूल आवश्यकतातर्फ नेतृत्वको ध्यान नजानेसमेत उनको दाबी छ।

‘अहिले देशमा सुशासन कायम गर्न सक्ने, शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्ने, महंगी, कालोबजारी, भ्रष्टाचार लगायतका यावत कुराहरु नियन्त्रण गर्न सक्ने, जनजीवन सहज बनाउन सक्ने व्यक्तिको आवश्यता छ,’ उनले भने, ‘यो दिशामा नेतृत्वले सोच्ला जस्तो लाग्दैन।’

स्रोतको दाबीअनुसार केही दिनमै मन्त्रिमण्डल हेरफेर गर्ने गरी काम अघि बढेको छ। आधा कार्यकाल पूरा गरिसकेको ओली सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो चुलिएको छ। सरकारले जनतालाई ‘डेलिभरी’ दिन नसकेको भन्दै पार्टीकै प्रभावशाली नेताहरू असन्तुष्ट छन्।

नेकपाभित्र मापदण्ड बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने माग धेरै अगाडिबाट उठे पनि मापदण्डका बारेमा नेताहरू नै प्रष्ट हुन सकेका छैनन् । ‘मन्त्रिमण्डल पुनर्गठनका लागि अध्यक्ष कमरेडहरूका बीचमा छलफल त व्यापक नै छ । तर, कहिले हुन्छ ओलीजीलाई मात्र थाहा छ। प्रचण्डजीसँग मिलेर त पुनर्गठन हुन्छ तर कस्तो खालको हुन्छ भन्ने बुभ्mन गाह्रो छ,’ प्रचण्डनिकट एक नेताले भने।

ती नेताले कोभिड–१९ महामारी रोकथामका लागि सरकारले गरिरहेको प्रयासमा प्रत्यक्ष संलग्न रहेका मन्त्रीहरूको बहिर्गमन हुने सम्भावना अत्यधिक रहेकोसमेत दाबी गरे। उनको संकेत रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालतर्फ थियो।

रक्षामन्त्री पोखरेललाई त प्रधानमन्त्री ओलीको अत्यन्तै विश्वासिलो पात्रमध्ये लिइन्छ नि ? भन्ने प्रश्नमा भने, ‘उहाँलाई प्रधानमन्त्रीले पार्टीमा मैले हेर्ने काम सबै हेर्नुहोस्, विष्णु पौडेल एक्लैले हेर्न सक्नुहुन्न भनेर मनाउन सक्नुहुन्छ। अर्थात् पोखरेललाई स्याडो ओली बनेर काम गर्नुहोस् भनेर हटाउन सक्नुहुन्छ।’

उनले स्वास्थ्यमन्त्री ढकालको स्थानमा खगराज अधिकारी आउन सक्ने सम्भावना पनि औंल्याए। ‘स्वास्थ्यमन्त्रीको परफमेन्स बिल्कुलै भएन। यत्रो महामारीमा पनि प्रभावकारी काम गर्न सकेनन्। डेलिभरीका हिसाबमा उहाँ बाहिरिनुपर्ने व्यक्ति हो,’ उनेले भने, ‘उहाँको ठाउँमा खगराजजी आउनुहुन्छ कि । पछिल्लो समय उहाँ प्रधानमन्त्रीको जसरी बचाउ गर्नुहुन्छ त्यसले अनुमान गर्ने ठाउँ देखिन्छ । फेरि उहाँ स्वास्थ्य क्षेत्रको पनि जानकार हो।’

उनले अर्थमन्त्रीमा महासचिव विष्णु पौडेलको सम्भावना प्रबल रहेको पनि बताए। ‘अर्थमा विष्णुजी र सुरेन्द्र पाण्डेजीको दाबी छ। तर, प्रधानमन्त्रीले बाध्यताबाहेकको परिस्थितिमा प्रचण्ड–नेपाललाई अर्थमन्त्रालय दिने सम्भावना न्यून छ,’ सोही नेताले भने, ‘फेरि एउटा चलन पनि छ, प्रधानमन्त्रीले रुचाएको व्यक्ति अर्थमन्त्री हुने । विष्णुजीले यसअघि पनि अर्थ चलाइसक्नुभएको छ।’

ओलीका विश्वासपात्र महेश बस्नेत पनि मन्त्रिमण्डलमा आउने चर्चा चलिरहेका बेला उहाँले जनतामाझ आलोचना भइरहेका पात्र मन्त्रिमण्डलमा अटाउने सम्भावना नरहेको समेत दाबी गरे। ‘महेश अहिले आउँदैनन्। अहिले बदनाम भएकालाई नल्याउने भन्ने छ । सम्भावना छैन,’ सांसद् अपहरण काण्डतर्फ इंगित गर्दै उनले भने। कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईलाई चलाउने सम्भावनासमेत नरहेको पनि उनको भनाइ थियो। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *