खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छः मन्त्री ढकाल

डिसी नेपाल
१० असोज २०७७ १५:२१

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस विषयमा जनचेतना जगाउनन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री ढकालले भने, “हामीले खानपान र आहारबिहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उनले बताए ।

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताए ।

अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उनले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरे । उहाँले भने, “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।”

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उनको भनाइ थियो ।

अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिए ।

मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भने ।

विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोलेका थिए ।

सो अवसरमा अस्पतालका कार्यकारी दिर्नेशक डा देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेका थिए। २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *