एम्बुलेन्स लिएर वडाध्यक्ष सङ्क्रमितको घरमा, होम आइसोलेशनमा बस्न नपाइने भन्दै दुर्व्यवहार

रासस
१० असोज २०७७ १८:२९

सप्तरी । खडक नगरपालिका–८ स्थित सङ्क्रमित पत्रकारको घरमा साइरन बजाउँदै दुई एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो । वडा नं ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ः०० बजे सङ्क्रमित पत्रकारको घर पुगे ।

तीन कोठाको अलग/अलग ओछ्यानमा छ जना आइसोलेट भई बसेका थिए । राजविराजबाट प्रकाशित हुने एक दैनिक पत्रिकाका सम्पादक चार दिनअघि र उनकै पत्रिकाका सहसम्पादकसहित परिवारका सदस्यमा कोरोना पोजिटिभ पुष्टि भएपछि उनिहरु सिङ्गो घर आइसोलेट गरी बस्न थालेका हुन् ।

यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा समेत जानकारी गराइएको पत्रकारकी दिदीले बताइन् । कतिपय स्थानमा होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरमै गएर जनप्रतिनिधीले भेटेर हौसला दिने अभियान चलाएका छन् । प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र बोकेर जनप्रतिनिधिको टोली सङ्क्रमितको घरमै पुगेर भेट्ने काम पनि भइरहेको छ ।

पत्रकारको घरमा अचानक एम्बुलेन्स, प्रहरी, सेनासहित पुगेका वडाध्यक्ष मियाँले होम आइसोलेशनमा बस्न पाइँदैन भन्दै दुव्र्यवहार गरे । सङ्क्रमित पत्रकारका अनुसार वडाध्यक्षले राजविराजस्थित आइसोलेशन केन्द्र वा नगरपालिकाकै स्वास्थ्य चौकीमा आइसोलेट भएर बस्न निकै दबाब दिए ।

बाहिरी मानिसलाई प्रवेश निषेध गरी सिङ्गो घर नै आइसोलेट गरी सरकारी मापदण्डानुसार नै होम आइसोलेशनमा बसेकाले अन्तको आइसोलेशनमा जानु नपर्ने सङ्क्रमित पत्रकारले अडान राखे । पत्रकारकी दिदीले पनि व्यवस्थित गरेर सिङ्गो घर नै आइसोलेशन बनाएर राखेकाले अन्त लैजाने दबाब नदिनु भनेर वडाध्यक्षलाई आग्रह गरिन् ।

त्यसपछि वडाध्यक्ष झन ठूलो स्वरमा चर्कदँै वडाका अन्य सङ्क्रमितलाई यसअघि संस्थागत आइसोलेसनमा पठाइएकाले घरमा बस्न नपाइने भनेर झगडा गर्न थालेको सङ्क्रमितहरुले बताएका छन् । वडाध्यक्ष मियाँले समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर राजविराज वा नगरपालिकाले निर्णय गरेको आइसोलेशन केन्द्रमा राख्न खोजेको बताए । उनले सङ्क्रमण फैलिएमा सबैले आफैलाई दोष दिने भएकाले सावधानी अपनाउन यसो गर्नुपरेको जानकारी दिए।

नगरपालिकाले २५ बेडको आइसोलेशन बनाउने निर्णय गरे पनि हालसम्म सञ्चालनमा आएको छैन् र यसअघि सङ्क्रमित हुनेलाई अन्य स्थानीय तहका जसरी राजविराजको आइसोलेशन केन्द्रमा पठाउने गरिएको छ । राजविराजपछि पछिल्लो पटक तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरुप नगरपालिकामा भने आफ्नै आइसोलेशन केन्द्र सञ्चालनमा छ ।

स्वास्थ्य कार्यालयका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा ५३ जना, तिलाठी कोइलाडीस्थित आइसोलेशन केन्द्रमा नौ र कञ्चनरुपस्थित आइसोलेशन केन्द्रमा छ जना रहेका छन् । सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २४६ पुगेकामा १४ जनाको मृत्यु भएको छ भने ९२८ निको भएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बाँकी २३९ जना आफ्नै घरमा आइसोलेटेड भएर बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *