गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन

रासस
१० असोज २०७७ १८:३८

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याएको छ ।

टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो । कुश्मीशेरा बजार तथा टाढाका कुनै पनि स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा तालीम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रदान गर्ने छ ।

पहिलो चरणमा नगरपालिका–३ स्थित उपल्लो दमेक, वडा नं. ७ स्थित जैदी, वडा नं. ८ स्थित छिस्ती र वडा नं। १० स्थित राङ्खानी स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिए । यसअघि नगरपालिका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान गर्दै आएको थियो ।

यो कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शसर्त अनुदान रु एक लाख र नगरपालिकाको रु तीन लाख गरी कूल रु चार लाख वजेट विनियोजन गरिएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागी भएका छन् । असोजको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवती महिलाले सेवा प्राप्त गरेका छन् ।
“सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ” स्वास्थ्यकर्मी सुनिता चालिसे भनिन्, “यो सेवा प्रभावकारी हुने देखियो, यसप्रति धेरै गर्भवती महिला उत्साहित हुनुहुन्छ ।” गर्भवती महिलाले चार पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक तीन महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलाहरुलाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बुटवल, पोखरा तथा धौलागिरी अञ्चल अस्पताल बागलुङमा जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य चौकीमा नियमित रुपमा गर्भ जाँच गराउने महिलाहरु पनि भिडियो एक्स रे सेवामा सहभागी हुने भएको छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुशी लागेको जैमिनी–८ छिस्तीकी गर्भवती रमादेवी रेग्मीले बताइन् । “वर्षायाममा गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो”, उनले भनिन्, “ अहिले गाउँकै स्वास्थ्य चौकीमा यो सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसँगै जोखिम पनि मोल्नुपरेन ।”

घुम्ती सेवाका लागि नगरपालिकाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तालिम प्राप्त सिनियर अनमी मनिकला थापा र लक्ष्मी शर्मालाई जिम्मेवारी दिएको छ । उक्त सेवा प्रदान गर्न डिजिटल भिडियो एक्सरे भएका कारण तालीम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन सक्नेछन् ।

यो सेवा सबै गर्भवती महिलालाई निःशुल्क रुपमा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन भएसँगै जैमिनी क्षेत्रमा मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झारिने नगरप्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिकाले सुरक्षित मातृत्वसँगै परिवार नियोजनका कार्यक्रमलाई पनि अघि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *