भारतले माग्यो राष्ट्र संघको सुरक्षा परिषद् स्थायी समितिमा सदस्यता

डिसी नेपाल
१० असोज २०७७ २०:११

काठमाडौं। सँयुक्त राष्ट्र संघको ७५ औं महासभामा अमेरिकाको न्यूयोर्कमा जारी छ। महासभामा विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखले सम्बोधन गरिरहेका छन्। शनिबार सम्बोधन गर्ने पालो छिमेकी मुलुक भारतको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेकर्ड गरिएको आफ्नो मन्तव्यमा भारतलाई राष्ट्र संघ सुरक्षा परिषद्को सदस्यता आवश्यक रहेको घुमाउरो ढंगबाट माग गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार भारतलाई राष्ट्र संघले लिने महत्वपूर्ण निर्णयबाट कहिलेसम्म अलग राखिने हो भने प्रश्न गरेका छन्।

मोदीले भारतको विश्वको १८ प्रतिशत जनसंख्या रहेको, भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएको, ठूलो अर्थतन्त्र र विभिधतापूर्ण जनसंख्या भएको भन्दै यसलाई महत्वपूर्ण निर्णयमा कहिलेसम्म टाढा राखिने भनेर प्रश्न गरेका छन्। उनले कहिलेसम्म पर्खिने भनेरसमेत प्रश्न उठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

राष्ट्र संघको महासभामा भारत र पाकिस्तानबीचको तनातानी पनि देखियो। जब पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार बोल्न शुरु गरे सभाहलबाट भारतीय प्रतिनिधि उठेर हिँडे। आफ्नो भाषणमा खानले भारतमा आरएसएसले नश्लीय वर्चस्वका लागि काम गरेको भन्दै हिटलरको नाजीसँग तुलना गरेका थिए। उनले जम्मु कश्मीरको मामिलामा अन्तर्राष्ट्रिय वैधताअनुसार समाधान नभएसम्म दक्षिण एशियामा शान्ति स्थापना हुन नसक्नेसमेत बताएर भारतमाथि आक्रमण गरेका थिए। उनले भारतले सीमा क्षेत्रमा बारम्बार तनाव बढाएको तर पाकिस्तानले धैर्यता गरेको उल्लेख गरेका थिए।

उता खानको भनाईमाथि जवाफ दिँदै भारतीय प्रतिनिधिले पाकिस्तानसँग विश्वलाई दिने सुझाव नभएकाले भारतसँगको द्वेष पोखेको बताएका थिए। भारतले जम्मू कश्मीर आफ्नो आन्तरिक मामिला भएकोसमेत बताएका थिए। उल्टै पाकिस्तानले जम्मू कश्मीरमा अवैध कब्जा गरेको भारतको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *