चीनले भन्यो – ‘गैरजिम्मेवार भारतलाई पाठ सिकाउने बेला भयो’

डिसी नेपाल
११ असोज २०७७ १०:५८

काठमाडौं। चीन र भारतबीच विवाद चलिरहेका बेला चीनले आक्रामक रवैया अपनाएको छ । चीनले अब भारतलाई पाठ सिकाउने बेला आएको जनाएको छ । उसले भारतलाई गैरजिम्मेवार भन्दै अब चीनले भारतमाथि कडाइ गर्ने समय आएको बताएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीय पृष्ठमा लेखेको छ ‘भारतले सिंहको खोल ओढेर चीनलाई धम्की दिइरहेको छ ।’

चीन र भारतबीच सोमबार सैन्य कमाण्डर स्तरीय वार्तामा तनाव कम गर्ने सहमति भएको तीन दिनमै भारतीय अखबार द हिन्दूसँग कुरा गर्दै भारतका बरिष्ठ सरकारी अधिकारीले चीनको जनमुक्ति सेना नजिक आएमा भारतीय सेनाले गोली चलाउन सक्ने अभिव्यक्तिप्रति लक्षित गर्दै चीनले यस्तो भनेको हो । भारतले हालै केही उच्च पहाडरुमा गैरकानुनी कब्जा गरेको र यसरी धम्की दिएर चीनको जनमुक्ति सेना नजिक आउँदैन भन्ने भ्रम पालेको ग्लोबल टाइम्सले लेखेको छ ।

ग्लोबल टाइम्सले सीमामा स्थिति आफ्नो पक्षमा भएको अवस्थामा उसले तनाव वार्ताबाट कम गर्ने पक्षमा वकालत गर्ने तर आफू कमजोर भएको अवस्थामा युद्धको स्थिति सृजना गर्ने आरोप लगाएको छ । जब भारतले आफूलाई केही फाइदा भएको देख्छ त्यतिबेला उसले चीनले वार्ताको लागि अग्रसर होस् भन्ने चाहने गरेको भन्दै ग्लोबल टाइम्सले भनेको छ ‘उसले बेइजिङले पूरै क्षेत्र आफूलाई छोडिदेओस् भन्ने चाहन्छ ।’ सीमा क्षेत्रमा रणनीतिक उचाइका स्थलहरु नियन्त्रण गर्ने भारतको पहिलेदेखिको नै नियत भएको लेखमा उल्लेख छ ।

चीनले सीमामा कहिल्यै युद्ध नचाहेको र विकासशील छिमेकीलाई भाइको रुपमा हेरिरहेको बताउँदै ग्लोबल टाइम्सले लेखेको छ ‘चीनले भारतसँग सहकार्यलाई द्विपक्षीय र बहुराष्ट्रिय स्तरमा प्रबद्र्धन गरिरहेको छ र अहिले चीनले भारतसँगै माथि उठ्ने प्रयास गरिरहेको छ तर भारतले यस्तो सोच्दैन । यसले चीनबाहेकको विश्वव्यापी औद्योगिक चेन बनाउन खोजिरहेको छ । ऊ चीनको उदयको विरुद्ध अमेरिकाको साथमा उभिन चाहन्छ । उसले चीनको उदयलाई भूरणनैतिक आँखाबाट हेरिरहेको छ र उसलाई डर छ कि भोलि चीन एसियामा प्रभावशाली शक्ति बन्नेछ ।’

ग्लोबल टाइम्स अगाडि लेख्छ ‘भारतले सीमा विवाद समाधान गर्नेतर्फ कुनै जिम्मेजारी देखाएको छैन । उसको एउटै नियत भनेको चीनले यो समस्यालाई भारतको लाभ हुने गरी अगाडि बढाओस् भन्ने हो ।’ भारतका विदेशमन्त्री एस जयशंकरले हालै भारत र चीन दुवैले एक अर्काको उदयलाई पर्याप्त स्थान दिनुपर्ने भनेकोप्रति लक्षित गर्दै ग्लोबल टाइम्सले यो भारतको उदयलाई चीनले स्वीकार गर्नुपर्ने र भारतलाई विश्वव्यापी शक्ति स्वीकार गर्नुपर्ने मागको रुपमा विश्लेषण गरेको छ ।

यदि चीनले जवाफ दिएन भने भारत–चीन सीमामा जारी विवाद दिन प्रतिदिन बढ्दै जाने भन्दै लेखमा भारतको पछिल्लो गतिविधिलाई २०१७ मा अमेरिकाबाट आइरहेको रणनैतिक दबाबजस्तै भनिएको छ । ‘२०१७ मा डोकलाम विवाद जियामेनमा हुने ब्रिक्स सम्मेलन र कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय सम्मेलनको ठिक अगाडि भएको थियो र त्यतिबेला चीनले अमेरिकाबाट रणनैतिक दबाब झेलिरहेको थियो’ लेखमा भनिएको छ ‘अहिलेको स्थिति ठिक त्यस्तै छ । सीमा विवाद त्यतिबेलै उठेका छन् जतिबेला अमेरिकाले चीनमाथि दबाब बढाउन सुरु गरेको थियो र चीन कोरोनाभाइरससँग जुध्न व्यस्त थियो । यदि भारतले यस्तै गरिरहन्छ भने चीनले भारतप्रतिको यसअघिको व्यवहार र सोचलाई पुनःमूल्यांकन गर्नुपर्छ । भारतप्रति कडाइ गर्ने बेला आएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *