बझाङ घटना : अपराध लुकाउन मिलापत्र गराउँदा अर्काे जघन्य हत्या

तर्कबहादुर थापा
१२ असोज २०७७ १२:१०

काठमाडौं। असोज १० गते शनिबारको रात बझाङकी १२ वर्षीया सम्झाना कामीका लागि अन्तिम रात भयो। १२ वर्षको कलिलो उमेरमा सम्झनाले बलात्कार जस्तो जघन्य अपराधका कारण देह त्याग गरिन्। सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ।

बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले १८ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ। बोहोराले यसअघि पनि बलात्कार गर्ने र कसैलाई भने मार्ने धम्की दिने गरेको खुलेको छ।

साउन २९ गते अर्की १४ वर्षीया बालिकामाथि पनि बोहाेराले बलात्कार गरेको घटना अहिले बाहिरिएको छ। घटना भएको वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले उक्त घटना वडा कार्यालयमा पनि नआएको बताए।

उनले साउन २९ गते अर्की एक बालिकालाई घट्ट पिस्न गएकाबेला बोहोराले बलात्कार गरेको र बाहिर ल्याए ज्यानमार्ने धम्कि समेत दिने गरेको बताए। बलात्कारपछि हत्या भएकी सम्झनाका कारण समाजलाई नै कलंकित पार्ने बोहोरा सार्वजनिक भएपछि गाउँलेले चोरी गरेकोदेखि बलात्कार गरेकोसम्मका घटनाहरु बाहिर ल्याउन थालेको वडाअध्यक्ष खड्काले जानकारी दिए।

सामान्य परिवारकै भए पनि अपराधिक मानसिकता भएका कारण बोहोराले थुप्रै घटनाहरु गरेको खुल्न आएको छ। उनी स्थानीयलाई धम्काएर आफ्ना कुकर्महरु गर्दै आएका थिए। समाजमै बिग्रेको मान्छे भनेर कसैले पनि उनको लागि कुनै पनि कुरा नउठाएको अध्यक्ष खड्काको भनाइ छ।

बलात्कारजस्तो घटना गाउँमा मिलाउने अधिकार स्थानीय तहमै नभएकाले टोलका मान्छेहरुले मिलाएको र दोषीलाई उन्मुक्ति दिएर अपराधलाई प्रोत्साहन गरेका छन्। उनीहरुलाई पनि गाउँपालिकाले छानबीन गर्छ र दोषी ठहरीए कारहवाही हुन्छ।

समाजमा बलात्कार जस्ता जघन्य अपराध लुकाउने प्रवृत्ति भएका कारण यस्ता ठूला घटना हुने गरेको गाउँपाकिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक भगवती बोहोराको बुझाइ छ। बोहोराले पहिला भएको घटना टोलमा नै मिलाइएको कुरा हाल आएर थाहा भएको बताइन्। उनले भनिन्, ‘गाउँपालिकालाई पुरानो घटना बारे थाहै थिएन।’

अपराधिक मानसिकता भएका बोहोरालाई उस्काउने काम भएको उनको बुझाइ छ। बलात्कार जस्तो जघन्य अपराध गरेका बोहोरालाई टोलमै मिलापत्र गराएर कारवाही नै नहुने रहेछ भन्ने पारेको उनको आरोप छ।

उनले भनिन्, ‘यसभन्दा पहिलाको बलात्कारको घटनालाई मिलापत्र गराउँनेलाई पनि छानविनको प्रकृयामा ल्याइन्छ। बलात्कारजस्तो घटना गाउँमा मिलाउने अधिकार स्थानीय तहमै नभएकाले टोलका मान्छेहरुले मिलाएको र दोषीलाई उन्मुक्ति दिएर अपराधलाई प्रोत्साहन गरेका छन्। उनीहरुलाई पनि गाउँपालिकाले छानबीन गर्छ र दोषी ठहरीए कारहवाही हुन्छ।’

स्थानीय सरकार सञ्चालन ऐनमा पनि बलात्कार जस्तो जघन्य अपराधलाई गाउँमा मिलाउने छुट दिइएको छैन। गाउँमै बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु मिलाएर अपराधी हत्या गर्नका लागि हौसिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको बुझाइ छ।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘अपराध लुकाएको मानिन्छ। उहाँहरुलाई बलात्कार जस्तो घटना मिलाउने अधिकार नै छैन। मैले पनि सञ्चार माध्यामबाट थाहा पाएको हुँ। गाउँमा अभियुक्तले गरेका धेरै अपराधहरु लुकाइएको रहेछ । अझ यस अघि भएको बलात्कारको कुरा त गाउँमै मिलाइए छ।’

‘हामीलाई औपचारिक घटना दर्ता भएको छैन,’ भण्डारीले भने, ‘औपचारिक घटना दर्ता भयो भने र गाउँलेले पहिला पनि बलात्कारमा संलग्न अभियुक्त बोहोरालाई बचाउने काम गरेको पाइएमा घटना मिलाउन संलग्न रहेका सबैलाई कानूनी कारवाही हुने छ।’

अधिवक्ता जगदीश दाहालले घटनामा संलग्न रहेकाहरुलाई मुलुकी ऐन फौजदारी संहिता २०७४ अनुसार अभियुक्त सरहको अपराधी मानिने बताएका छन्।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘घटनाको ढाकछोप गर्न, कानूनी दायरामा पुग्न नदिन सहयोग गरेको ठहरिन्छ। घटनाको प्रकृति अनुसार उनीहरु दोहोरो घटनामा संलग्न रहेको बुझिन्छ। श्रृङ्खलाबद्ध घटना गराउन सहयोग गरेको ठहरिए अभियुक्त सरहको अपराध ठहरिन्छ। र, उनीहरुलाई मुल करणीको ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म कारवाही हुन्छ। जरीवाना तथा कैद सजाय दुवै हुन पनि सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *