उपचारपछि नर्वेका राजा हेराल्ड विरामी विदामा बस्ने

डिसी नेपाल
१२ असोज २०७७ १९:५०

ओस्लो (रासस/एएफपी)। नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्ने दरबारले जानकारी गराएको छ ।

गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।

अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।”

उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ ।

उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।

सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा रमाउँथे। राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतीकका रूपमा हेर्छन्।

उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । उनलाई जनवरीमा पनि चक्कर लागे पछि अस्पतालमा एक हप्ता राखिएको थियो ।

करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *