भारतीय सेनाद्वारा हजारौं नेपाली भर्ती गरिँदै, रजिष्ट्रेसन प्रक्रिया जारी

डिसी नेपाल
१३ असोज २०७७ १२:११

काठमाडौं। चीन र भारतबीच स्थिति तनावपूर्ण छ । सीमा क्षेत्रमा २ देशका सेनाबीच भिडन्त भइरहेको छ । दुवै देशले आक्रामक रणनीति अपनाइरहेका छन् र दुवै तर्फबाट युद्धको धम्की दिइएको छ । यस्तो तनावपूर्ण स्थितिमा भारतीय सेनाले अचानक ठूलो संख्यामा नेपालीहरु भर्ती गर्न थालेको छ ।

भारतीय वायु सेनाले अहिले धमाधम तीन फरक फरक पदमा भर्ती खोलेको छ र भर्ती प्रक्रिया जारी छ । एयरमेनको ग्रुप एक्स, ग्रुप वाइ र ग्रुप वाइ नन टेक्निकल ट्रेडमा गुजरात, कर्नाटका, ओडिशा, बिहार, हरियाणा र राजस्थानमा भर्ती लिइँदैछ । यी सबै पदको लागि अविवाहित भारतीय र नेपाली नागरिक योग्य हुने बताइएको छ ।

भर्ती कति पदका लागि खोलिएको हो भन्ने निश्चित छैन तर हजारौंको संख्यामा भर्ती गरिने अनुमान गरिएको छ । किनकि कोभिड १९ बाट सुरक्षाको लागि १ दिनमा १७५ जना उम्मेदवार मात्र परीक्षाका लागि उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ र परीक्षा दिने अवधि १० दिनभन्दा बढी छ । अर्थात हरेक भर्ती केन्द्रमा १० दिनभन्दा धेरै समयसम्म परीक्षा संचालन हुने बताइएको हुँदा भर्ती संख्या हजारौंमा हुने सहजै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय भारत र नेपालबीच सीमा विवाद बढेका कारण भारतीय सेनामा गोर्खाली भर्ती बन्द गर्नुपर्ने आवाज पनि उठेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा गोर्खाली भर्तीको औचित्य सकिइसकेको बताएका थिए । केही समयअघि विप्लव नेतृत्वको नेकपाले पनि भारतलाई चीनसँगको युद्धमा नेपाली नखटाउन भनेको थियो ।

उता भारततर्फबाट भने गोर्खाली भर्ती रोक्ने कुरा औचित्यहीन भएको प्रतिक्रिया आएको थियो । नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जीभसिंह पुरीले नेपालले गोर्खाली नपठाए भारतीय गोर्खाली समुदायबाट त्यसको पूर्ति गर्नुपर्ने बताएका थिए । अर्का पूर्वराजदूत रञ्जीत रेले भने भारतीय सेनामा भर्ती हुनु नेपाली युवाका लागि ठूलो अवसर भएको भन्दै यसबारे नेपालले धेरै पटक सोच्नुपर्ने घुमाउरो चेतावती दिएका थिए । उनले चीनसँगको युद्धमा गोर्खाली नअटाउने कुरा अस्वीकार्य भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *