टेकू अस्पतालमा पीसीआर टेस्ट गर्न भारतीय नागरिकको ठूलो लर्को

धनकुमार कार्की
१३ असोज २०७७ १३:४१

काठमाडौं। कोरोना महामारीकाबीच दैनिक ठूलो संख्यामा नेपाली कामदार भारतमा काम गर्न गएका समाचारहरु बिभिन्न सञ्चार माध्यममा बारम्बार आइरहेका छन्।

कोरोना महामारीकाबचि नेपाल भित्रिएका नेपाली नागरिक यतिबेला भारत पलायन हुन थालेका समाचार सार्वजनिक भइरहेका बेला भारतबाट रोजगारीका क्रममा नेपाल आउने भारतीय नागरिकको संख्या दैनिक बढिरहेको छ।

कामको सिलसिलामा राजधानी भित्रिएका अधिकांश भारतीय नागरिक यतिबेला पीसीआर टेस्ट गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड लाग्ने गरेको छ।

भारतीय नागरिक राजधानी काठमाडौं उपत्यकामा ठेलागाडामा फलफूल बेच्ने, फ्रिज, पंखा जस्ता इलेक्ट्रोनिक सामानहरु मर्मत गर्ने लगायत काम गर्दै आएका छन्।

यतिबेला टुकू अस्पतालमा कोरोना टेस्ट गराउनेको संख्या बढिरहेको छ। कोरोना टेस्ट गराउनेको भीडमा भारतीय नागरिकको सख्या धेरै छ।
त्यही भीडमा थिए तिवारी यादव। बिहारको मोतिहारी घर भएका तिवारी यादव बिहारबाट हप्ता लगाएर आइतबार काठमाडौँ आइपुगे।

सरकारले असोज लागेपछि लामो दूरीका सार्वजनिक सवारी साधनहरु खुल्ला गरेसँगै कामका लागि काठमाडौँ भित्रिनेको संख्या ठूलो छ। दशैं नजिकिँदै गर्दा उपत्यका छाड्ने भन्दा प्रवेश गर्ने धेरै छन्।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि नै होलीका लागि उनी आफ्नो घर बिहार गएका थिए। यादवले लकडाउन अघि काठमाडौंका बस्तीहरुका कागज बोतल र कवाडी जम्मा पारेर बेच्ने काम गर्दै आएका थिए। ‘उतै हुँदा लकडाउन सुरु भयो, त्यसैले आउन सकिन। अहिले लकडाउन खुलेपनि नेपाल आएको हो,’ उनले भने।

यादव कुपन्डोलमा एउटा कोठा भाडामा लिएर बस्दै आएका थिए। कोठामा आफ्नो सामान थियो। सबै परिवार पाल्न जिम्मेवारी यादवकै थियो।
लकडाउन खुलेको थाहा पाउने वित्तिकै उनी एक हप्ता लगाएर काठमाडौं त आइपुगे, तर कोठामा पस्न पाएनन्। पीसीआर पोजेटिभ भएको रिपोर्ट नभएसम्म कोठमा बस्न नदिने घरबेटीको अडानपछि उनी पीसीआर टेस्ट गर्न टुकू अस्पताल आइपुगेका हुन्।

वीरगञ्ज नाकामा रोक्छ भन्ने सुनेर उनी नजिकैको भित्री भन्सारको बाटो हुँदै नेपाल छिरे। ‘वीरजञ्जबाट त छिरियो, तर कोठामा छिर्न पाइएन,’ यादवले डिसी नेपालसँग गुनासो गरे।

उनी आइतबार बिहान कलंकी उत्रिएर सिधै कुपन्डोलको कोठातिर हानिए। कोठामा पुगेर भित्र छिर्न नपाउँदै घरबेटीले देखिहाले। उनलाई कोरोनाको कुनै लक्षण त देखिएको छैन तर, घरबेटीले छिर्न नदिएपछि नजिकै बस्ने साथीकोमा गएर खाना खाएर साँझ तिर टेकू पुगे।
‘घबेटीले कोरोना टेस्ट नगरेसम्म कोठामा बस्नै दिन्न भन्नु भयो। टेस्ट गराउने आएको आजसम्म (सोमबार) पालो नै आएन,’ उनले भने।

यादवजस्ता धेरै कामदारहरु त्यो भिडमा थिए। नेपालमा लकडाउन सुरु भएपछि काम ठप्प भएका कारण ती कामदारहरु घर फर्केका हुन्। तर लकडाउन खुकुलो भएसँगै उनीहरू रोजगारको लागि पुनः काठमाडौं फर्केका हुन्।

विभिन्न समस्याहरु झेल्दै काठमाडौं आइपुगेका उनीहरुलाई घरबेटीले पीसीआर परीक्षण नगराई घर पस्न नदिएपछि दिनरात अस्पताल गेटमै बसेर पीसीआर गराउन लाइनमा बसेका छन्।

सरकारले असोज लागेपछि लामो दूरीका सार्वजनिक सवारी साधनहरु खुल्ला गरेसँगै कामका लागि काठमाडौँ भित्रिनेको संख्या ठूलो छ। दशैं नजिकिँदै गर्दा उपत्यका छाड्ने भन्दा प्रवेश गर्ने धेरै छन्।

कन्चनपुर जिल्लाको गड्डाचौकी र गौरीफन्टा २ ओटा ठूला नाकाको पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा २२ सय भन्दा मानिसहरु भारतबाट नेपालतर्फ भित्रिएका छन्।

टेकूको त्यो भीडमा भारतीय मात्र थिएनन्। नेपालकै तराईका विभिन्न जिल्लाबाट आएका नेपाली नागरिक पनि थिए। २४ घण्टादेखि खुला आकाशमुनी आफ्नै झोलाको अडेस लगाएर बसेका उनीहरु थोरै भुजा र पानी खाएर रात काटेका थिए भने कोही लाइनमा इँटा राखेर छेउको भित्तामा ओत लागेर बसेका थिए।

त्यो लाइनमा नेपाली नागरिक भन्दा भारतीय नागरिक धेरै भेटिए। सरकारले अन्तरर्राष्ट्रिय सीमा बन्द गरेको छ। तर, निर्वाध रुपमा उनीहरु काठमाडौंमा आइपुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *