भारतले नेपालीलाई लक्षित गरेर वायु सेनामा भर्ती खोलेपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया

डिसी नेपाल
१४ असोज २०७७ ११:२८

काठमाडौं। भारतले नेपालीलाई लक्षित गरी भारतीय वायु सेनामा भर्ती खोलेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भउको छ। डिसी नेपालले भारतीय सेनाद्वारा हजारौं नेपाली भर्ती गरिँदै, रजिष्ट्रेसन प्रक्रिया जारी भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि सामाजिक संजालमा तीव्र प्रतिक्रिया जनाइएको हो।

सामाजिक संजाल फेसबुकमा शोभा श्रेष्ठ लेख्छिन्, ‘पैसा ठूलो हो। पैसाका अगाडि देशभक्ति हराउँछ। नेपाली सेनामा भर्ती नबढाउनु नेपालको कमजोरी हो। नेपालको बलिया युवा विदेश लैजाने अन्तर्राष्ट्रिय राजनीति जुन पृथ्वीनारायण शाहको पालादेखि सुरु भयो। जति लडेपनि नेपाली जित्दै जान थालेपछि सम्मानका साथ विदेशी भूमिमा लान थालियो। यो सब हुन लडाइँ रोक्नु थियो। त्यो आजसम्म चलेको छ। तर, त्यतिको सम्मान सायद आज छैन।’

योगेन गुरुङ लेख्छन्, ‘बासी ढिडो खाउँला, मेलापात जाउँला, पसिना यहीँ बगाउँला, नजाउ साइला लाहुरे हुन। सिउँदोको सिन्दुर पुछेर मलाइ विधवा बनाउन।’

रमेश कार्कीले लेखेका छन्, ‘नजाउ कोहीपनि चाइनसँग लडाइँमा हारेर मार्न खोजेको हो।’

महेन्द्र आचार्य लेख्छन्, ‘आकर्षक रोजगार नेपालीलाई खुल्यो। मर्नु त एकदिन छ नै। खान नपाएर मर्नु भन्दा टन्न खाएर मर्न चाहने मनुष्यको स्वाभाव नै हो। यसको विरोध गर्नेहरुले देशमा रोजगारी दिन सक्नुपर्छ। सक्छौ भने देश लुट्नेहरुको विरुद्ध आन्दोलनको तयारी गर। भारत र चीन नेपालका छिमेकी देश हुन्। यी देशको विरोध गरेर समय खेर नफाले हुन्छ। आफ्नो देशको बारेमा सोच।’

सेवक कुमार लेख्छन्, ‘फेरि नेपाली जनतालाई मार्ने प्रयास गर्दैछ। भारतले आफ्नो देशका जनतालाई बचाएर नेपाली जनतालाई मार्ने दुस्टपापीलाई पाप लागिजाओस्।’

भारतीय वायु सेनाले अहिले धमाधम तीन फरक फरक पदमा भर्ती खोलेको छ र भर्ती प्रक्रिया जारी छ। एयरमेनको ग्रुप एक्स, ग्रुप वाइ र ग्रुप वाइ नन टेक्निकल ट्रेडमा गुजरात, कर्नाटका, ओडिशा, बिहार, हरियाणा र राजस्थानमा भर्ती लिइँदैछ। यी सबै पदको लागि अविवाहित भारतीय र नेपाली नागरिक योग्य हुने बताइएको छ।

पछिल्लो समय भारत र नेपालबीच सीमा विवाद बढेका कारण भारतीय सेनामा गोर्खाली भर्ती बन्द गर्नुपर्ने आवाज पनि उठेको थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा गोर्खाली भर्तीको औचित्य सकिइसकेको बताएका थिए। केही समयअघि विप्लव नेतृत्वको नेकपाले पनि भारतलाई चीनसँगको युद्धमा नेपाली नखटाउन भनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *