काँग्रेस विवादः पौडेल समूहविरुद्ध के बन्दैछ देउवाको काउण्टर रणनीति?

खेमराज थापा
१४ असोज २०७७ १८:४१

काठमाडौं। नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र समूहबीच लामो समय सुषुप्तरुपमा चलिरहेको विवाद गएको सोमबार पार्टी कार्यालयमा विरोध पत्र बुझाएसँगै चर्किएको छ।

पौडेल समूहले मौखिक रुपमा आफ्ना असन्तुष्टि राख्दा सभापति देउवाले नसुनेकाले लिखितै विरोध पत्र बुझाउनु परेको वरिष्ठ नेता पौडेलले बताउँदै आएका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते बस्दै छ। सो बैठक बस्नुअघिसम्म ‘अवैधानिक गतिविधि’ फिर्ता लिन पौडेल समूहले सभापति देउवालाई अल्टिमेटम दिएको छ।

पार्टी कार्यालयमै पुगेर पौडेल समूहको शब्दमा ‘अवैधानिक गतिविधिको सूची’ बुझाएपछि सभापति देउवा दबाबमा छन्। त्यसैले उनले पौडेल समूहविरुद्ध कुन रणनीति अपनाउने भनेर आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्।

बुधबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आफू निकट पदाधिकारीहरुसँग यो विषयमा छलफल गरेका छन्। छलफलमा देउवाले पौडेल समूहले उठाएको कदमको कसरी सामाना गर्ने भनेर छलफल गरेका छन्। बैठकमा सहभागी सहमहामन्त्री डा. प्रकाशसरण महतले पार्टी कार्यालयमा बुझाइएको विरोध पत्रबारे छलफल भएको बताए। उनले डिसी नेपालसँग भने, ‘आगामी केन्द्रीय कार्यासमितिको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल भएको हो। उहाँहरु (पौडेल)ले बुझाएको ज्ञापन पत्रबारे पनि छलफल भयो।’

सभापति देउवाले विरोध पत्र प्रकरणपछि कडाभन्दा नरम नीति लिने संकेत उनका गतिविधिले देखाउँछ। स्रोतका अनुसरा सभापति देउवाले पौडेललाई मनाउन अनौपचारिक छलफलहरु चलाइरहेका छन्। विभिन्न नेताहरुमार्फत पनि पौडेलसँग यो विषयमा छलफल भएको छ। सभापति देउवा सकेसम्म केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नै पौडेललाई मनाउने प्रयासमा छन्।

सहमहामन्त्री डा. महतले डिसी नेपालसँग भने, ‘ज्ञापन पत्रको विषयमा उहाँहरुसँग केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि पनि छलफल गर्ने कुरा भएको छ।’ त्यसो त बुधबारको बैठकमा पौडेल समूहले उठाएका विषयमा केन्द्रीय कार्यासमितिको बैठकमा स्पष्ट पार्ने निर्णयसमेत भएको छ। डा. महतले भने, ‘उहाँहरुका केही आशंका होलान्, विरोध नै गर्नुपर्ने त केही छैन। तर पनि केन्द्रीय कार्यसमिति बैठकमा स्पष्ट पार्ने छलफल भएको छ।’

पार्टी महाधिवेशनमा होमिसेकपछि सभापति देउवाले धमाधम पार्टीका विभागहरु गठन गरेर २ हजारभन्दा धेरै नेता कार्यकर्तालाई मनोनित गरेपछि पौडेल समूहले विरोध गर्दै आएको छ। महाधिवेशन नै प्रभावित पार्ने गरी विभाग गठन गरिएको पौडेल समूहको आरोप छ। पौडेल समूहले विभाग गठन पार्टीको विधान विपरित भएको तर्क गर्दै आएको छ। यस्तै पार्टीको क्रियाशिल सदस्यता वितरणमा पनि सभापति देउवाले मनोमानी गरेको आरोप छ। यस्तै भातृ संस्थाको पदावधि थपेको विषयमा पनि पौडेल समूहको असन्तुष्टि छ।

पार्टीको महाधिवेशनको मितिबारे पनि बुधबार बुढानिलकण्ठमा छलफल भएको छ। डा. महतले भने, ‘महाधिवेशनको मितिबारे सभापतिको छुट्टै केही सोँच छैन। केन्द्रीय कार्यासमितिमा खुला छलफल हुन्छ। जे निर्णय हुन्छ, सबैको सहमतिमा हुन्छ। कसैमाथि निर्णय थोपार्ने भन्ने हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *