नापाको दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न

डिसी नेपाल
१४ असोज २०७७ २२:०५

वाशिङ्टन। ‘कृषिमा परिवर्तन मार्फत विश्व खाद्य सुरक्षा’ भन्ने नाराका साथ सेप्टेम्बर २४ मा सुरु भएको नापाको दोस्रो चार दिने भर्चुवल अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ।

समापन समारोहमा नापाबाट प्रकाशित खाद्य सुरक्षा बिषयक कितावका लेखकहरुबाट आफ्नो च्याप्टरबारे संक्षिप्त जानकारी दिइएको थियो। समापन कार्यक्रममा ख्याती प्राप्त नेपाली कलाकारहरुको सहभागिता रहेको सांस्कृतिक कार्यक्रम, कृषि कविता लगायत विभिन्न विधाहरुमा पुरस्कार वितरण, एवं चन्दादाता तथा स्वय सेवकहरुको सम्मान गरिएको थियो।

समारोहमा अमेरीकाका लागि नेपालका अवैतनिक वाणिज्य दूत प्रेम राजा महतले मन्तव्य राख्दै नापा नेपाली मूलका कृषि बैज्ञानिकहरु संगठित गर्न सफल भएको र यो सवै नेपालीका लागि गर्वको विषय भएको बताए। कार्यक्रममा महत लगायत अन्य कलाकारहरु बिरही कार्की, नर्वदा खरेल एवं नापाका सदस्यहरु डा. मनोज कार्की, र सारुज ख्ड्काले लोकगीत प्रस्तुत गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै नापाका सल्लाहकार डा. नन्द जोशीले नापाले यति छोटो समयमा नेपाल, अमेरीका लगायत धेरै देशहरुका ४०० भन्दा बढी सदस्यहरुलाई समेटेर राम्रा कामहरु गरेको भन्दै प्रशंसा गरे। नापा अब अन्तर्राष्ट्रिय स्तरको संगठन भएको र आगामी दिनमा यसले अमेरीका बाहिर पनि कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा उनले जोड दिए।

उक्त कार्यक्रममा नापाका कोषाध्यक्ष एवं सम्मेलन तयारी समितिका सचिव डा. सन्तोष ढकालले पुरस्कार बिजेताहरुलाई पुरस्कार रकम हस्तान्तरण गर्ने प्रक्रियाबारे जानकारी दिएका थिए भने नापाका उपाध्यक्ष डा. प्रदीप वाग्लेले सम्मेलनका लागि सहयोग गर्ने चन्दादाताहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा यस्तो सहयोग जारी राख्न अनुरोध गरेका थिए।

कार्यक्रममा डा. अदित्य खनाल, डा. राजन घिमिरे, डा. ओमकार जोशी र डा. भरत पोख्रेलले बिद्यार्थीहरुबीच भएको प्रतिस्पधाको बिजेताहरुको नाम पढेर सुनाएका थिए भने अम्विका तिवारीले कृषि कविता प्रतियोगिताका बिजेताहरुको नाम उद्घोष गरेकी थिइन्।

उक्त कार्यक्रममा विभिन्न विधामा कूल २,१५० डलर बराबरकोपुरस्कार वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता तथा संचालन नापाका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. लिला कार्कीले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *