६ जना राजदूत प्रस्ताव गरिएकोमा दुईको मात्र निर्णय

डिसी नेपाल
१६ असोज २०७७ ६:४२
28
Shares

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयका तर्फबाट प्रस्तुत भएको छ जना राजदूतहरुको नाम समावेशी नभएको भन्दै तत्काल सार्वजानिक नगर्न मन्त्रिपरिषद्को बैठकमा निर्देशन दिएका छन्।

बिहीबार विहानको बैठकमा मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत र पूर्वअर्थमन्त्री तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गर्ने प्रस्तावका साथमा दक्षिण अफ्रिका र कोरियासहितका मुलुकका लागि थप ४ जनाको नाम प्रस्ताव गरिएको थियो।

समाचारअनुसार, प्रधानमन्त्रीले रेग्मी र खतिवडाको बाहेक अरुको नाम तत्काल सार्वजानिक नगर्न सबै मन्त्रीहरुलाई आग्रह गरेका थिए। यहाँ नाम आइसक्यो तर यो कुरा अहिले सार्वजानिक नगरौं प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, महिला, मधेशीआदिको कुरा पनि आउने हुँदा रेग्मी र खतिवडाको बाहेक अरुको बारे आज निर्णय पनि नगरौं भन्नुभयो। परराष्ट्रले डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि प्रस्तावित थिए। प्रस्तावित लिष्टमा एकजना पूर्व सैनिक उच्चअधिकारी पनि छन्।

सचिवले शुरु गरे बैठक

मुख्यसचिव रेग्मीले राजीनामा दिइसकेको र नयाँ मुख्यसचिव नियुक्ति नभएकाले बिहीबारको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालयका बरिष्ठतम् सचिव महेन्द्रप्रसाद गुरागाईँले शुरु गरेका थिए।

उनले मुख्य सचिवको राजीनामा स्वीकृतको विषय र नयाँ मुख्य सचिवको नियुक्तिको एजेण्डा पहिला प्रस्तुत गर्नु पर्नेमा अरु नै प्रस्तावबाट बैठक शुरु गरेका थिए।

त्यसपछि उनलाई रोक्दै प्रधानमन्त्रीले पहिला राजीनामाको प्रस्ताव पेश गर्न अह्राएका थिए। प्रधानमन्त्रीले भनेबमोजिम मुख्यसचिव रेग्मीको राजीनमा पेश गरी तत्काल स्वीकृत भएको घोषणा गरियो र नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकर बैरागीको प्रस्ताव गरी पारित गरियो। यसपछि बैठककक्ष बाहिर यो निर्णय कुरिरहेका रेग्मी र बैरागीलाई भित्र बैठकस्थलमा बोलाउन लगाइएको थियो।

दुबैजना आफ्ना लागि बस्ने कुर्सी आफै बोकेर बैठक कक्षमा प्रवेश गरेका थिए। शुरुमा प्रधानमन्त्रीले नयाँ मुख्यसचिव बैरागीलाई बधाइ र स्वागत गरेपछि अरु मन्त्रीहरुले पनि बधाइ दिएका थिए। नयाँ मुख्यसचिवको नियुक्ति त्यहीँ भएपनि सो बैठकको पूरै सेसन भने सचिव महेन्द्रले नै संचालन गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *