काेराेना भाइरस : खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण हुनसक्छ

डिसी नेपाल
१६ असोज २०७७ १४:५९

बीबीसी। खोकी र ज्वरोभन्दा सुँघ्न सक्ने शक्ति गुमाउनु कोभिड-१९ को स्पष्ट सङ्केत हुन सक्छ। अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ।

युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो।

एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन। यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो।

गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट सुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो।

अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ।

तर युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखक/अध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन्।

उनले एप्रिल महिनाको २३ तारिखदेखि १४ मे सम्म विगत चार सातादेखि स्वाद र गन्ध गुमाएका मानिसहरूलाई लन्डनमा एसएमएसमार्फत् आफ्नो अनुसन्धानमा सरिक गराइन्।

यी सबै मानिसमा एन्टिबडिको परीक्षण गरियो र पाँचमध्ये चारजनामा एन्टिबडि देखियो जसले उनीहरूमा पहिला कोभिड-१९ पोजिटिभ थियो भन्ने देखाउँछ।

त्यस्तो अध्ययनमा सहभागी व्यक्तिहरू सबैमा सामान्य लक्षण भएको र त्यो पनि गन्ध र स्वाद गुमाएका हुनुपर्ने नियम राखिएको थियो ताकि उनीहरू सबैले कोभिडका बिरामीको प्रतिनिधित्व नगरुन्।

तर यो अध्ययनले मानिसहरूलाई गन्ध वा स्वादमा आएको परिवर्तन हेर्न र त्यस्तो लागे आफूलाई अलग्गै राख्न महत्त्वपूर्ण छ भन्ने कुरालाई प्राथमिकता दिएको प्राध्यापक ब्याटरह्यामले बताइन्।

उनका अनुसार दैनिक प्रयोग हुने सामानहरू जस्तै अत्तर, दन्तमन्जन, कफीजस्ता कुराको गन्ध नपाएको महसुस गरे आफूलाई अलग्गै राख्नुपर्छ।

सबै कोरोनाभाइरसका बिरामीले गन्ध नपाएको महसुस गर्नैपर्छ भन्ने त छैन तर यदि गुमेको छ भने कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना धेरै रहेको अनुसन्धानहरूले बताएका छन्।

प्राध्यापक ब्याटरह्यामले व्याख्या गरिन्, मानिसले हेर्नुपर्ने भनेको चाहिँ रुघा नलागिकनै वा नाक बन्द नभइ गन्ध आउन छोडेको छ/छैन भन्ने हो।

कोभिड-१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ।

किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए।

यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन्।

त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन्।

लामो समयसम्म बिरामी भए त्यसले मानिसको जीवनमा महत्त्वपूर्ण रुपमा असर गर्नसक्छ।

हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन्।

केहीले आफूहरूले निरन्तर रूपमा बासी “फोहोर” को गन्ध अनुभव गरेको वा धातुको जस्तो स्वाद अनुभव गरेको बताएका छन्।

अन्यले चाहिँ भाइरस निको भइसकेको महिनौँसम्म पनि राम्ररी खानेकुराको स्वाद लिन नसकेको बताएका छन्।

प्राध्यापक ब्याटरह्यामका अनुसार गन्धमात्रै गुमाउने र अन्य लक्षण नहुने मानिसको समूह अन्य मानिसका लागि “सबैभन्दा खतरनाक” हुन्छन् किनभने उनीहरू सामान्य महसुस गर्छन् र सामान्य दैनिकीमा हुन्छन्।

उनका अनुसार स्वाद र गन्धको कुरा सँगसँगै हुने भए पनि कोरोनाभाइरसबाट निको भएकाहरूमा गन्ध हराउनु वा कम हुनु स्वाद हराउनुभन्दा बढी सामान्य हो।

उनको अध्ययन त्यतिबेला गरिएको थियो जतिबेला गन्ध र स्वाद नहुनुलाई लक्षणका रुपमा पहिचान गरिएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *