नेपाली कम्युनिस्ट नेता कार्यकर्ताले अब अमेरिकाको ग्रीनकार्ड र नागरिकता नपाउने

डिसी नेपाल
१९ असोज २०७७ ११:३७

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको पोलिसी अलर्टमा यस्तो व्यवस्था गरिएको छ । अक्टोबर २ मा जारी गरिएको पोलिसी अलर्टअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट पार्टीका भातृ संगठनहरुका सदस्यले पनि अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् । अहिले पोलिसी अलर्ट आएपनि यो नियम अमेरिकाको नौलो नियम भने होइन । अमेरिकी नियमअनुसार कुनै पनि कम्युनिष्ट पार्टीको सक्रिय सदस्य अमेरिकामा स्थायी बसोबासका लागि योग्य मानिदैन ।

पोलिसी अलर्टमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था गरेको छ । अमेरिकी कंग्रेसले देशको सुरक्षाको लागि यो  नीति पारित गरेको बताइएको छ । यो नीति अमेरिका र चीनबीच बढिरहेको तनावका कारण ल्याइएको विश्वास गरिएको छ ।

यो  नीतिले चीनमात्र नभइ नेपालसहितका कैयौं देशका कम्युनिष्ट पार्टीसँग आबद्ध व्यक्तिहरु अमेरिकाका लागि अस्वीकार्य हुनेछन् । अहिले कम्युनिष्ट पार्टीका सक्रिय सदस्य भएका मात्र नभइ विगतमा कम्युनिस्ट पार्टीमा आबद्ध रहेकाहरु पनि यो कनुनअनुसार अमेरिकामा स्थायी बसोवास पाउनका लागि अयोग्य हुनेछन् । यसअघि नै अमेरिकामा स्थायी बसोवास अनुमति पाइसकेकाहरुको हकमा भने नीतिमा केही उल्लेख छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *