भारतमा बलात्कृत नेपाली युवती एक्लै न्याय खोज्दै ८०० किलोमिटर टाढा किन पुग्नुपर्‍यो ?

डिसी नेपाल
२० असोज २०७७ ११:१०

काठमाडौं। भारतमा बलात्कृत एक नेपाली युवती न्याय खोज्न ८०० किलोमिटर टाढा पुग्नुपरेको छ । २२ वर्षकी ती नेपाली युवतीले न्याय खोज्दै उजुरी दर्ता गराउनकै लागि ८०० किलोमिटर टाढा पुग्नुपरेको हो । उनी उत्तर प्रदेशको लखनउमा बलात्कारको शिकार भएकी थिइन् तर उनलाई उजुरी दर्ता गराउनकै लागि ८०० किलोमिटर टाढा महाराष्ट्रको नागपुर पुग्न बाध्य हुनुपरेको छ । यी नेपाली युवती उजुरी दर्ता गराउनकै लागि लखनउबाट भागेर नागपुर पुगेकी हुन् ।

उनलाई बलात्कार गर्ने व्यक्तिको डरका कारण उनी यति टाढा जानुपरेको हो । बलात्कार गर्ने आरोपीले यी युवतीलाई पुलिसकहाँ नजान धम्की दिएका थिए । उनलाई लखनउमा बलात्कार गरिएको थियो तर आरोपीको धम्कीले डराएकी उनी भागेर जसोतसो नागपुर पुगिन् । पुलिसलाई उद्धृत गर्दै एनडीटिभीले लेखेअनुसार उनी नागपुर आफ्नी एक साथीकहाँ पुगेकी हुन् । तिनै साथीले उनलाई ‘जीरो एफआइआर’ दर्ता गराउन सहयोग गरे । ‘जीरो एफआइआर’ विशेष किसिमको उजुरी हो जुन कुनै पनि पुलिस स्टेशनमा दर्ता गराउन सकिन्छ । पछि पुलिसले नै यो केसलाई सम्बन्धित पुलिस स्टेशनमा स्थानान्तरण गर्छ ।

नागपुरको कोठारी पुलिस थानाले समाचार एजेन्सी पीटिआइलाई बताएअनुसार युवतीले उजुरीमा आफू काम गर्नको लागि २०१८ मा नेपालबाट भारत पुगेको बताएकी छिन् । यही वर्षको मार्चदेखि उनी लखनउमा आफ्नी एक साथीको भाडाको कोठामा बसिरहेकी थिइन् । यो कोठा लखनउको फैजाबाद मार्गमा छ । युवतीकी साथीले नै उनलाई भिडियो कलमार्फत आरोपी प्रविण राजपाल यादवसँग परिचित गराएकी थिइन् । यादव लखनउकै हुन्, उनी दुबइमा सफ्टवेयर इन्जिनियर थिए ।

पीडित नेपाली युवतीका अनुसार उनले आफ्नी साथीलाई डेढ लाख रुपैयाँ दिएकी थिइन् । तर, जब उनले रकम फिर्ता मागिन् त्यसपछि उनकी साथीको व्यवहार बदलियो । त्यसपछि साथीले सताउने र कुटपिट गर्ने गर्न थालिन् । पीडित युवतीले यसबारे यादवलाई भनिन् । त्यतिबेला यादव दुबइमै थिए । यादवले दुबइबाटै लखनउमा उनको लागि एउटा होटल बुक गरेर त्यहाँ जान भने । केही दिनपछि आरोपी पनि दुबइबाट लखनउ आए र उनले पीडित नेपाली युवतीलाई होटलमा भेटे ।

पीडित युवतीका अनुसार यादवले उनलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेका थिए । त्यसपछि उनले युवतीलाई लखनउमा एक साथीको घरमा लिएर गए र त्यहाँ पनि उनलाई नशालु पदार्थ दिएर उनलाई बलात्कार गरे । उनका केही आपत्तिजनक तस्वीरसमेत खिचेर इन्टरनेटमा अपलोड गरिदिए । उनलाई धम्की पनि दिए कि यसबारे पुलिसलाई बताए यी तस्वीरलाई भाइरल गरिदिनेछन् ।

त्यसपछि पीडित युवती त्यहाँबाट भागेर नागपुर पुगिन् । त्यहाँ उनकी नेपाली नै साथी छिन् । ३० सेप्टेम्बरमा नागपुर पुगेकी युवतीले ३ अक्टोबर शनिबारका दिन पुलिस स्टेशनमा उजुरी दर्ता गराइन् । आइतबार राती त्यहाँको पुलिसको एक टिम युवतीलाई लिएर लखनउ हिँडेको छ । लखनउ आएपछि त्यो पुलिस टिमले त्यहाँको चिनहाट पुलिस स्टेशनमा मुद्दा दर्ता गराउनेछ र पीडितलाई लखनउ पुलिसको संरक्षणमा छाड्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *