लुटेराको गोली लागेर टेक्सासमा एक नेपाली गम्भीर घाइते

डिसी नेपाल
२४ असोज २०७७ ५:३९

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यको अष्टिन भन्ने शहरमा एउटा लुटेरा समूहले गोली प्रहार गर्दा ड्युटीमा रहेका एकजना नेपाली युवा गम्भीर घाइते भएका छन्।

अक्टोवर ७ तारिक बुधबार रातिको समयमा ड्युटी गरिरहेका उनलाई उनी कार्यरत ग्यास स्टेशन तथा खुद्रा पसलमा गोली प्रहार भएको हो । लुटेराको प्रहारबाट सो पसलमा कार्यरत उमेश न्यौपाने गम्भीर घाइते भएका छन् ।

अमेरिकामा इन्धन बेच्ने पसलहरुमा अन्य आवश्यक पर्ने खुद्रा सामानहरु र फास्टफुडसम्म बेच्ने गरिन्छ । प्राप्त समाचारअनुसार, अष्टिन शहरको डाउन टाउनमा रहेको भारतीय व्यापारीको स्वामित्वमा रहेको ग्यास स्टेशनमा कार्यरत रहेकै बेला तीनजना अस्वेत व्यक्ति पसलभित्र आएको र तीमध्येको एकले बन्दुक देखाएको थियो ।

लुटेराले बन्दुक देखाएपछि दुबै हात माथि उठाई आत्मसमर्पणको संकेत दिएका न्यौपानेलाई लुटेराले गोली प्रहार गरेको थियो । घटना राति ११ बजेतिरको भएको बताइएको छ । न्यौपानेलाई गोली प्रहार गरी सो पसलबाट केही पनि नलुटी सो लुटेरा समूह भागेको सीसीटीभी फुटेजमा देखिएको स्थानीय प्रहरीले जानकारी दिएको थियो ।

गोली प्रहार गरी भागेको लुटेरा समूहले अष्टिनकै अरु दुईवटा स्टोरहरु लुटेको जानकारी प्रहरीले पाएको तर सो समूह हालसम्म पक्राऊ परिनसकेको  बताइएको छ । लुटेराले प्रहार गरेको गोली ३५ बर्षका नेपाली युवा न्यौपानेको पेटबाट छिरेको र पेटभित्रका अंगहरुलाई ड्यामेज गरी बाहिरिएको थियो ।

उनको अत्यन्तै गम्भीर अवस्थामा बुधबार मध्यरातिदेखि स्थानीय अस्पतालको आईसीयूमा उपचार भइरहको अष्टिन नेपाली समाजका पूर्वअध्यक्ष एवं समाजसेवी देवराज न्यौपानेले डिसी नेपाललाई बताए ।

उनका अनुसार, धाइतेको पेटको शल्यक्रिया गरिएको छ र गोलीले ड्यामेज गरिएका भागहरुलाई जोगाउने प्रयास गरिएको छ । उनको एउटा मृगौलामा गोली लागेको छ । उपचारका क्रममा शुक्रबार दिउंँसोदेखि उनको सामान्य होस् खुलेको छ र अस्पतालले उनको शल्यक्रिया सफल भएको बताएको छ ।

नेपालको सिराहाबाट अमेरिका आएका न्यौपानेका श्रीमती र एउटा बच्चासहित सपरिवार अष्टिनमै बस्दै आएका छन् । कोरोना माहामारीले बढेको बेरोजगारी तथा अमेरिकामा आसन्न चाडपर्वहरुका कारण लुटेराहरुको सक्रियता टेक्सासको अष्टिनलगायत कतिपय क्षेत्रमा बढ्न थालेको बताइएको छ । विशेषत चौबीसै घण्टा खुल्ने ग्यांस स्टेशनहरुमा अमेरिकाका धेरै ठाउंहरुमा लुटेराहरुबाट गोली प्रहारका घटनाहरु समय समयमा हुने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *