सडेको अवस्थामा मृत गैँडा भेटियो, चालु आर्थिक वर्षमा मात्र ९ वटा गैँडा मरे
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ।
निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो ।
करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए। सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् । गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment