१ जनाको लागि किन खोलियो ७ महिनादेखि बन्द देशको सबैभन्दा चर्चित पर्यटकीय स्थल ?
काठमाडौं। पेरुले आफनो देशको सबैभन्दा चर्चित पर्यटकीय स्थल माचु पिचु केवल १ जना पर्यटकको लागि खोलेको छ । जापानका जेसी कातायामा यस वर्षको मार्चमै माचु पिचु घुम्नका लागि गएका थिए तर त्यतिबेला कोरोनाभाइरसका कारण माचु पिचुलाई बन्द गरिएको थियो । कातायामाले पनि करिब ७ महिनासम्म माचु पिचु जाने प्रतिक्षा गरेर त्यहीँ बसे । अन्ततः ७ महिनासम्म पर्खेर बसेका यी एक जना पर्यटकको लागि अहिले माचु पिचु खोलिएको हो ।
माचु पिचु पेरुको इंका सभ्यताको प्रसिद्ध अवशेष स्थल हो । यहाँका खण्डहरहरु इंका सभ्यताका निशानी हुन् । टाढा–टाढाबाट पर्यटकहरु यहाँ इंका सभ्यताका अवशेषहरु हेर्न आउँछन् । पेरुका सांस्कृतिक मन्त्री एलेक्जान्डे नेयराका अनुसार कातायामालाई विशेष अनुरोधपछि माचु पिचु जाने अनुमति दिइएको हो । पेरुको सबैभन्दा चर्चित पर्यटकीय स्थल माचु पिचु अर्को महिना खुल्दैछ तर यहाँ जान पाउनेहरुको संख्या सीमित गरिएको छ । अहिलेसम्म माचु पिचु खोल्ने निश्चित मिति तय भइसकेको छैन ।
जापानी पर्यटक जेसी कातायामाले पेरुमा केही दिन बिताउने योजना बनाएका थिए । तर मार्चको मध्यमा उनी कोरोनाभाइरसका कारण ओगर क्यालिएन्ट्स शहरमा फसे । यो शहर माचु पिचु नजिकै छ । पेरुका सांस्कृतिक मन्त्री नेयराले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने ‘कातायामा माचु पिचु घुम्ने सपना लिएर पेरु आएका थिए ।’ नेयराका अनुसार कातायामाले जापान फर्किनुभन्दा पहिले आफ्नो सपना पूरा गर्न सकुन् भनेर उनलाई माचु पिचु जाने अनुमति दिइयो । कातायामाले पनि माचु पिचु गएर एउटा भिडियो रेकर्ड गरे जसमा उनी त्यहाँ पुगेको खुसी मनाइरहेका देखिएका छन् । कातायामाले भने ‘यो यात्रा साँच्चै गजबको छ । धन्यवाद ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment