कोरोना कहर : राज्यले खुट्टा कमायो, नागरिक आफैं सचेत बनौं

डिसी नेपाल
२८ असोज २०७७ १२:५४

मानव जातिको इतिहासमा र मानव सभ्यताको विकास क्रममा धेरै प्रकारका संटकसँग जुध्दै अगाडि बढ्नु परेको विगतको यथार्थ छ। यस्ता महामारी समय समयमा भिन्न रुपमा विभिन्न संकट व्यहोर्दै आएको हाम्रो विगत छ।

यसै क्रममा कोरोना माहामारीको प्रकोपबाट अहिले संसार गुज्रिरहेको छ। मानजातिले यो संकटलाई झेल्नु परिरहेको छ। यस्ता संकटहरु बिरलै आउँछन् र, यस्ता संकटले धेरै ठूलो क्षति गरेर जान्छन्। त्यो क्षतिलाई वा त्यो पीडा शान्त हुनलाई निकै समय लाग्छ। आज हामी त्यही अवस्थामा छौं।

प्रकृतिका रहस्यहरु वा हाम्रो यो प्रकृतिलाई उपभोग गर्ने तरिकाहरुमा भएका कमिकमजोरीका कारणले उत्पन्न हुने यस्ता संकटहरु हुन्। र, यस्ता संकटलाई पूर्ण नियन्त्रण गर्ने हाम्रो क्षमता विकसित भइसकेको छैन।

हरेक प्रकारका संकटहरुलाई हामीले पूर्ण नियन्त्रण गर्न सक्ने सामथ्र्य हामीले हासिल गरिसकेका छैनौं भन्ने कुराको यो एउटा दृष्टान्त हो। र, कुनै पूर्व सूचना लिएर यस्ता संकट आउँदैनन्। दैविक प्रकोपको बरु अनुमान गर्न सकिन्छ।

समुद्री आँधीको अनुमान गर्न सकिने भयो, बाढी पहिरोको अनुमान गर्न सकिने भयो। यस्ता अनुमान हुन सक्ने भए। तर, यस्ता प्रकारका महामारीको अनुमान पनि गर्न सकिँदैन। महामारी सुरु भएपछि मात्रै यसबाट जोगिने तयारीमा हामी लाग्नुपर्ने अवस्था छ। र अहिले हामीले जनु भयावह अवस्था भोगिरहेका छौं, यो भयावह बढ्दै पनि गइरकेको छ, यसको कारण हामी आफैं हौं।

माहामारी त आइहाल्यो, महामारी नेपाल प्रवेश गरिहाल्यो। यसको पूर्व सूचना हुँदाहुँदै विश्व स्वास्थ्य संगठनले हामीलार्य सचेत गराउँदा गराउँदै पनि हामीले होशियारी अपनाउन सकेनौं।  चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले विश्वयात्रा गरिसकेर धेरै ठूलो खैलाबैला मच्याइसक्दा पनि हामीले यसबाट जोगिने उपायका बारेमा सोचेनौं र त्यसबाट बच्ने उपायका बारेमा तयारी गरेनौं।

नेपाललाई त अझ कोरोना मुक्त क्षेत्र, नेपालीहरुको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता एकदमै उच्च रहेको र नेपालमा कोरोना नै नआउने गरिकन सरकारले यसलाई हल्का रुपमा लियो, यो विषयमा राज्य पटक्कै गम्भीर भएन।

राज्यले खुट्टा छाडिसकेको अवस्था देखिन्छ। एकदमै बेहोस हुने अवस्था भयो, सास फेर्न गाह्रो हुने अवस्था आयो भने मात्रै अस्पताल आउनु होल भन्न थालेको छ। राज्य अब अस्पतालमा बिमारी ल्याउने र उपचार गर्न सक्ने अवस्थामा छैन भनेर भनिसकेको छ। जबकि अहिलेसम्म १ लाख १५ हजार संक्रमित छन्। त्यसमा झण्डै ७९ हजार त निको भएर फर्किसकेका छन्।

गत वर्षको चैत ११ गतेबाट हामीले लकडाउन गर्यौं। त्यो भन्दा अगाडिको जुन दुई तीन महिनाको समय थियो, विश्वभर कोरोनाले हाहाकार मच्चाएको समय थियो, त्यो बेला कोरोना नेपालमा प्रवेश गरेकै थिएन।

त्यो समयलाई हामीले अधिकतम उपयोग गरेर हामीले सुरक्षाकर्मीलाई एकदम तयारी अवस्थामा राखेर, अस्पताललाई तयारी अवस्थामा राखेर, देशभरी स्वयंसेवकलाई परिचालन गरेर, केही थोरै पकेटखर्च लिएर राज्यले दशौं हजार युवालाई परिचालन गरेर, स्थानीय तहको वडासम्म दश हजार स्वयं सेवक खटायौं भने यसले सचेता अपनाउने खालका सन्देश बोकेर स्वयं सेवकहरु गाउँ गाउँमा जान्छन्। उनीहरुले राज्यका लागि काम गरेको अनुभूति पनि गर्छन्।

उनीहरुले कोरोना महामारीले प्रवेश गरेपछि अपनाउनु पर्ने सचेतानका विषयमा जनकारी दिन्छन्। के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विषयमा पनि जानकारी दिन्छन्। उनीहरुलाई आवश्यक पर्ने स्यानिटाइजर, मास्क, सावुनलगायत राज्यले उपलब्ध गराउनुपर्छ। त्यसो भयो भने निम्त स्तरका नागरिकपनि राज्यबाट आश्वस्त हुन्छन्।

तर राज्यले यो विषयमा कुनै पनि ध्यान दिएन। यो बीचमा एक्कासी लकडाउन सुरु गर्यो। लकडाउन सुरु भइसकेपछि एकैचोटी ब्रज परेजस्तो नागरिकलाई एकै पटक ठूला समस्याले घेर्यो। ससना व्यापार गरेर बसेका मानिसको व्यापार बन्द भयो, आवागमन बन्द भएपछि आर्थिक गतिविधि ठप्प भए।

यस्तो बेलामा अन्य मुलुकमा सरकारले आफ्ना नगारिकलाई बचाउनका लागि रोगसँग लड्ने कुरा दोस्रो कुरा भइहाल्यो, कोविडबाट विमारी भएकालाई उपचार गर्ने त अर्को कुरा भइहाल्यो, आफ्ना नागरिकलाई बाँच्नका लागि हरेक महिना पैसा दिने गरी अमेरिका युरोपदेखि भारतसम्म पनि सरकारले त्यो व्यवस्था गरे।

तर नेपाल सरकारले त्यसतर्फ ध्यान दिएन। सरकारमा बसेकाहरुले गुड्डी हाँके। भोकले हामीले कसैलाई पनि मर्न दिने छैनौं, जसले खान पाउनु भएन हामी घर घरमै सबै व्यवस्था गर्छौं भनेर सरकारमा बसेका मानिसले गुड्डी हाँक्ने काम मात्रै गरे। न अस्पतालको व्यवस्था छ। न स्वास्थ्य सामाग्रीको व्यवस्था छ। न गरिव मानिसलाई खाद्यान्नको व्यवस्था छ।

अहिले समाजको अवस्था भयावह भयो। स्वास्थ्य सामाग्री ल्याउँदा पनि खुलेआम भ्रष्टाचार भयो भनेर जानकार मानिसले औंल्याउँदा पनि सरकारले सुनेन। यी सबै कुरालाई सरकारले नजरअन्दान गर्यो।

एउटा अनुभव नै भएको ओम्नी ग्रुपलाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिइयो, ओम्नीले ल्याएका समान पनि मादपण्ड नपुगेका भन्ने प्रमाणित भयो। त्यसपछि सेनालाई ठेक्का दिने काम भयो, त्यसबाट असाध्यै महंगोमा सरकारले सामान खरिद गर्यो।

त्यसपछि युवाहरुले युवाहरुले सडकमा असाध्यै ठूलो विरोध प्रदर्शन गरे ‘इन अफ इज इन अफ’ भनेर। दुई पटकसम्म अनशन बस्नुपर्यो। यी सबै कुरालाई सरकारले नजर अन्दाज गर्यो। यस्ता संकटमा सक्रिय हुनुपर्ने र त्यो सँगै जनताको संकटलाई राज्यले आफ्नो संगठन ठानेर त्योसँग जुध्ने तदारुपता र अग्रसरता देखाउनु पर्ने थियो, ती कुनै पनि काम राज्यले गरेन। यति संवेदनहीन राज्य संसारमा अरु हुँदैनन्।

राज्यकोतर्फबाट काम गर्न सरकारमा बसेका व्यक्तिहरुको अभिव्यक्ति र व्यवहार चाँही जनताको संवेदना विपरित भएको पायौं, भोग्यौं। हामीले अहिले भयावहतालाई बढ्न नदिनलाई समयमै राज्यले होस पुर्याएको भए यस्तो भयावह स्थिति आउँदैन थियो, यस्तो संकटको सामना गर्नु पर्दैन थियो। राज्यको यसको असाध्यै ठूलो कमजोरी छ, यसको जति आलोचना गरेपनि पुग्दैन।

राज्यले खुट्टा छाडिसकेको अवस्था देखिन्छ। एकदमै बेहोस हुने अवस्था भयो, सास फेर्न गाह्रो हुने अवस्था आयो भने मात्रै अस्पताल आउनु होल भन्न थालेको छ। राज्य अब अस्पतालमा बिमारी ल्याउने र उपचार गर्न सक्ने अवस्थामा छैन भनेर भनिसकेको छ। जबकि अहिलेसम्म १ लाख १५ हजार संक्रमित छन्। त्यसमा झण्डै ७९ हजार त निको भएर फर्किसकेका छन्।

अब ३०/३५ हजार बिमारीलाई पनि थेग्न नसक्ने अवस्थामा राज्य पुगको छ। पछिल्लो आँडका अनुसार ६६३ जनाको मृत्यु भएको छ। र, यो सख्या कै हिसाबले भन्ने हो भने १ लाख १५ हजार संक्रमित भनेको ३ करोड जनसंख्यामा एकदमै धान्नै नसक्ने अवस्था हो भन्न मिल्दै। संचारमा मानिसको मृत्यु भएको संख्या हेर्ने हो भने पनि ६६३ नियन्त्रण भित्रै हो।

निको भएर गएकाको आँकडा पनि राम्रै संख्यामा छ। यो संख्यामै सरकार आत्तिने खुट्टा कमाउने भनेको अर्को गैरजिम्मेवार काम हो। सरकारको कुनै भर छैन। सरकारबाट आश्वस्त हुनुपर्ने कुनै कारण छैन। त्यसैले नागरिक आफैंले होस पुर्याउनु बाहेक, आफैं सचेत हुनु बाहेक अरु कुनै उपाय छैन।

त्यसैले नागरिकले यो कोरोनाबाट जोगिन आफैं होसियार हुनुपर्ने अवस्था छ। संभव भएसम्म र अत्यावश्यक काम नभएसम्म घरमै बस्ने र भेटघाटका कामलाई एकदम पातलो गर्ने र भेटघाट गर्दा पनि दूरी कायम गरेर भौतिक दूरी कायम गरेर भेटघाट गर्नुपर्छ। खाँदा पनि रोग प्रतिरोधी क्षमता बढाउने किसिमका खाने कुरा खानुपर्छ।

ज्वरो सामान्य आउँदा नै आत्तिनु पर्ने रोग पनि होइन रहेछ। किनभने ठूलो संख्यामा संक्रमित निको भएकाले पनि त्यही देखाउँछ। र, अर्को महत्वपूर्ण कुरा के रहेछ भने रोजगारी गुमाएर चुलो भिनेका नागरिकलाई राज्य गैर जिम्मेवार भयो भनेर हामी नागरिक तमासे बन्नु हुँदैन। हामीले चुलो निभेका, खान र बाँच्न नै समस्या भएका असाध्यै निम्न वर्गका जनतालाई नागरिक तहबाटै हामीले त्यसको व्यवस्था मिलाउनुपर्छ।

आफ्नो वडामार्फत आँकडा निकालेर जोसँग खाद्यान्न छैन, जोसँग बाँच्ने आधार छैन भने ती नागरिकको आँकडा निकालेर हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ। अहिले झण्डै साढे ६ हजार वडाहरु छन्। सबै वडामा हाम्रो स्थानीय सरकार छ। राजनीतिक दलहरुको संरचना देशभर फैलिएको छ। हामीसँग व्यावसायी, व्यापारी, कर्मचारी, सुरक्षाकर्मी छन्।

अहिले पनि दुई चार पैसा नियमित आम्दानी भइरहेका समूह छन्, त्यस्तो समूहले आपत विपत परेको समूहलाई सहयोग गर्नुपर्ने दायित्व नागरिकको काँधमा थपिएको छ। यदि यसो गर्न सकियो भने संटकमा सक्षम नागरिकले कमजोर नागरिकलाई सहयोग गर्ने परिपाटी हामीले सुरु गर्नुपर्छ। यद्यपी हाम्रो संस्कृतिको त्यो एउटा पाटो हो।

नसक्नेलाई सक्नेले सहयोग गर्ने भन्ने हाम्रो संस्कृतिको एउटा अंग नै हो। तर असाध्यै आपत पर्दा मात्र सहयोग गर्ने नभइ सामान्य समस्यामा पनि सहयोग गर्ने किसिमको अग्रसरता देखाउनुपर्छ, यो भन्दा अर्को विकल्प छैन।

कांग्रेस केन्द्रीय सदस्य घिमिरेसँग डिसी नेपालका मदन कोइरालाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *