‘मैले सुनें अब तपाईं सुन्नुहोस्’

डिसी नेपाल
२ कार्तिक २०७७ ७:२७

काठमाडौं। करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो ।

कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बनेका छन्।

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

कर्णाली प्रदेशको विवादले पार्टीभित्र आन्तरिक उत्कर्षमा पुगेपछि समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार दुई दिन कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका नेताहरुले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन्।

कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई शनिबार बालुवाटार बोलाए पनि प्रचण्डले भने संयुक्तरुपमा भेट्न अस्वीकार गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *