‘अमेरिकी प्रजातन्त्रको लागि राष्ट्रपति ट्रम्प दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो खतरा’

डिसी नेपाल
२ कार्तिक २०७७ १०:५१

काठमाडौं। अमेरिकाका प्रमुख अखबार न्यूयोर्क टाइम्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा खुला रुपमा उत्रिएको छ । शुक्रबार न्यूयोर्क टाइम्सले आफ्नो सम्पादकीयमै राष्ट्रपति ट्रम्पलाई अमेरिकी प्रजातन्त्रको लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो खतरा भएको बताउँदै मतदाताहरुलाई मतदानमार्फत उनलाई राष्ट्रपति पदबाट हटाउन प्रोत्साहित समेत गरेको छ ।

‘ट्रम्पको विनाशकारी कार्यकालले अमेरिकालाई आफ्नो घरमा र विश्वभरी नराम्रोसँग क्षति पुर्याइसकेको छ । उनले आफ्नो शक्तिको दुरुपयोग गरेका छन् र आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरुको वैधानिकतालाई अस्वीकार गरेका छन् जसले देशलाई पुस्तौंदेखि एकसूत्रमा बाँधेर राखिरहेका मापदण्डहरु तोडिएका छन्’ सम्पादकीयमा लेखिएको छ ‘उनले आम जनताको चासोलाई आफ्नो व्यवसायिक र राजनैतिक नाफासँग जोडेर हेरेका छन् । उनले अमेरिकीहरुको जीवन र स्वाधीनतालाई डरलाग्दो तरिकाले बेवास्ता गरेका छन् । उनी अहिले आफू भएको जिम्मेवारीका लागि अयोग्य छन् ।’

‘सम्पादकीय बोर्डले विधिवत रुपमा निर्वाचित राष्ट्रपतिलाई हल्का रुपमा अभियोग लगाउँदैन’ सम्पादकीयमा अगाडि लेखिएको छ ‘ट्रम्पको कार्यकालमा हामीले उनको रंगभेद र जेनोफोबियाको बारेमा बताएका छौं । हामीले युद्धपछि विश्वव्यापी सम्बन्ध र गठबन्धनको एउटा प्रणाली, जसको स्थापनाको लागि कैयौं जीवन उत्सर्ग गर्नुपर्यो, यसमाथि उनको बर्बर आक्रमणको आलोचना गरेका छौं ।’ सम्पादकीयमा अगाडि लेखिएको छ ‘हामीले बारम्बार उनका विभाजनकारी बयानबाजी र अमेरिकीहरुमाथि दूषित आक्रमणको विरोध गरेका छौं । अहिले यो संकटको घडीमा यो अमेरिकी जनतामा निर्भर छ, उनीहरुमा समेत जो रिपब्लिकन राष्ट्रपति चाहन्छन्, कि उनीहरुले अब मतदानबाट अमेरिकाको संरक्षण, रक्षा र प्रतिरक्षा गर्नुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *