विश्वव्यापी भोक सूचकांकः भारतको अवस्था धेरै खराब, दक्षिण एसियामा नेपालको स्थिति राम्रो

डिसी नेपाल
२ कार्तिक २०७७ १२:०१

काठमाडौं। विश्वव्यापी भोक सूचकांकमा भारतको अवस्था अत्यन्तै खराब देखिएको छ । तुलनात्मक रुपमा दक्षिण एसियामा नेपालको अवस्था भने धेरै माथि छ । सूचकांकमा समावेश गरिएका कूल १०७ देशहरुमध्ये भारत ९४ औं स्थानमा छ । यो भोकको गम्भीर श्रेणी हो । विशेषज्ञहरुले भारतको यस्तो खराब स्थितिको लागि खराब कार्यान्वयन प्रक्रिया, प्रभावकारी निगरानीको कमी कुपोषणसँग लड्ने उदासीन दृष्टिकोण र ठूलो राज्यको खराब प्रदर्शनलाई दोषी मानेका छन् । गत वर्ष ११७ देशको सूचीमा भारत १०२ औं स्थानमा थियो ।

शुक्रबाट प्रकाशित सूचकांकअनुसार दक्षिण एसियाका अन्य सबैजसो देशहरुको स्थिति भारतको भन्दा राम्रो छ । यसमा पनि नेपालको स्थिति धेरै राम्रो देखिएको छ । नेपाल ७३ औं स्थानमा छ र भोकको गम्भीर अवस्थाबाट माथि उठेको छ । सार्कका ८ देशहरुमध्ये नेपाल र श्रीलंका गरी दुई देश मात्र भोकको मध्यम श्रेणीमा छन् । श्रीलंका नेपालभन्दा अगाडि ६४ औं स्थानमा छ । भुटानको पर्याप्त तथ्यांक उपलब्ध नभएका कारण उसको वर्गीकरण गरिएको छैन भने माल्दिभ्सलाई वर्गीकरणमा समावेश गरिएको छैन ।

सार्कका देशहरुमध्ये भारतभन्दा पछाडि अफगानिस्तान मात्र छ । अफगानिस्तान ९९ औं स्थानमा छ । यसबाहेक पाकिस्तान र बंगलादेश भारतभन्दा अगाडि छन् । बंगलादेश ७५ औं र पाकिस्तान ८८ औं स्थानमा छन् । म्यानमार समेत ७८ औं स्थानमा छ । यद्यपि यी तीनवटै देशहरु गम्भीर श्रेणीमा भने छन् । चीन, बेलारुस, टर्की, क्युबा, कुवेत लगायत १७ देशहरु विश्वव्यापी भोक सूचकांकको शीर्षमा छन् । रिपोर्टका अनुसार भारतको १४ प्रतिशत जनसंख्या कुपोषणको शिकार छन् । यो संख्या नेपालको कूल जनसंख्याको ६ गुणाभन्दा बढी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *