शहरमा २ जना मात्र बस्छन्, कोरोना सुरक्षाका नियम भने कडाइका साथ पालन गर्छन्

डिसी नेपाल
३ कार्तिक २०७७ १७:२२

काठमाडौं। कोरोनाभाइरसको संक्रमण बढिरहेको समयमा बाक्लो बस्ती भएका क्षेत्रमा मानिसहरुले भौतिक दूरी कायम गर्ने प्रयास गरिरहेका छन् । यही क्रममा इटलीको शहर हेमलेटमा निकै रोचक दृश्य देखिन्छ । ८२ वर्षका जियोवनी क्यारिली र ७४ वर्षका जियाम्पियरो नोबिली मात्रै यो शहरका बासिन्दा हुन् । शहरमा उनीहरुबाहेक अरु कोही बस्दैनन् । तैपनि यी दुवैले कोरोनाभाइरसबाट सुरक्षाको लागि बनाइएका सबै नियमको कडाइका साथ पालना गर्छन् ।

सीएनएनको एक रिपोर्टअनुसार शहरमा यी दुईका कुनै तेस्रो छिमेकी समेत छैनन् । तैपनि सेवानिवृत्त यी वृद्धहरुले कुनै जोखिम लिन चाहँदैनन् । यही कारण सम्भवतः यी दुईले यो शहर छाडेर जाने पनि छैनन् । यो शहर पेरुजा प्रान्तको उम्ब्रियामा छ । दुई जनामात्र बस्ने इटलीको यो शहर पर्यटकहरुमा भने निकै लोकप्रिय छ । शहर करिब ९०० मिटरको उचाइमा अवस्थित छ ।

क्यारिली र नोबिलीले आफूहरुलाई सुरक्षित राख्न एकान्तमा पनि मास्क लगाउँछन् । क्यारिलीले सीएनएनसँग भने ‘भाइरसबाट मृत्युको डर छ । यदि म बिरामी भएँ भने मेरो हेरचाह कसले गर्छ ? म बुढो भएँ तर आफ्ना भेडा, फलफूल, मौरी र बगैंचाको रेखदेखको लागि यहाँ बस्न चाहन्छु । म आफ्नो जीवन निकै रमाइलोसँग बाँचिरहेको छु ।’

नोबिलीले पनि सुरक्षाका उपायहरुलाई बेवास्ता गर्नु र आफ्नो ज्यानलाई जोखिममा पार्नु दुवैका लागि ठिक मान्दैनन् । उनले सीएनएनसँग भने ‘केवल स्वास्थ्यको कारणले मास्क र सामाजिक दूरीको नियमको पालना नगर्नुस् । यसमा केही राम्रो नराम्रो छैन । यदि यो नियम हो भने तपाइँले स्वयं आफ्नो र अरुको लागि यसको पालना गर्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *