चीन र ताइवानका राजदूतबीच कुटाकुट भएपछि तनाव चरम स्थितिमा

डिसी नेपाल
५ कार्तिक २०७७ १०:०२

काठमाडौं। चीन र ताइवानका राजदूतबीच झडप भएपछि दुई देशबीचको तनाव झनै बढेको छ । ताइवानले फिजीमा आफ्नो राष्ट्रिय दिवसको कार्यक्रममा दुई देशका राजदूतबीच झडप भएको र झडपमा आफ्ना राजदूत घाइते भएको आरोप लगाएको छ । बीबीसीको रिपोर्टअनुसार उता चीनले पनि यो झडपमा आफ्ना कूटनैतिक अधिकारी पनि घाइते भएको बताउँदै फिजी पुलिससँग यसको सत्य तथ्य जाँच गर्न माग गरेको छ ।

चीन र ताइवानबीच स्थिति पहिलेदेखि नै तनावपूर्ण छ । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ तर ताइवानले आफूलाई छुट्टै स्वतन्त्र देश मान्छ । चीनले बेलाबेलामा ताइवानलाई सैन्य तरिकाले आफूमा मिलाउने चेतावनी दिइरहन्छ । ताइवानलाई अमेरिकाले नैतिक समर्थन दिने गरेको छ । यद्यपि ताइवानलाई सैन्य समर्थन दिने विषयमा भने अमेरिकाले अझै पनि आफ्नो नीति स्पष्ट पारेको छैन ।

पछिल्लो झडप ८ अक्टोबरमा भएको थियो जसमा फिजीमा ताइवानको वाणिज्य दूतावासले ग्रयाण्ड प्यासिफिक होटलमा १०० पाहुनाहरुलाई एक कार्यक्रममा आमन्त्रण गरेको थियो । ताइवानको विदेश मन्त्रालयले चीनका अधिकारीले त्यहाँ आएका पाहुनाहरुको फोटो खिच्न र उनीहरुको बारेमा जानकारी जुटाउन थालेको आरोप लगाएको छ । ताइवानका राजदूतले चिनियाँ अधिकारीलाई त्यहाँबाट जान भनेपछि झडप सुरु भएको बताइएको छ । ताइवानको विदेश मन्त्रालयले जारी गरेको बयानमा राजदूतको टाउकोमा चोट लागेको र उनलाई अस्पताल भर्ना गर्नु परेको बताइएको छ ।

चीनले भने आफ्ना अधिकारी कार्यक्रम स्थलमा नगएको र कार्यक्रमस्थलबाहिर सार्वजनिक स्थलमा रहेका बेला ताइवानका अधिकारीले उनीहरुलाई उक्साउने क्रियाकलाप गरेको बताएको छ । चीनले कार्यक्रमस्थलमा के भइरहेको छ भन्ने आफ्ना अधिकारीलाई थाहा नभएको बताएको छ । कार्यक्रमस्थलमा ताइवानको राष्ट्रिय दिवसको अवसरमा केक काटिएको थियो जुन केकमा ताइवानको झण्डा बनाइएको थियो तर चीनले यो झण्(डालाई मान्यता दिँदैन किनकि चीनले ताइवानलाई देश मान्दैन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झओ लिजियानले समाचार एजेन्सीएएफपीसँग भने ‘घटनास्थलमा फर्जी झण्डा देखाईदै थियो । केकमा पनि फर्जी झण्डा बनाइएको थियो ।’ फिजीको पुलिसले यो घटनाको बारेमा कुनै आधिकारिक बयान दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *