तस्करले उजाडिएको दुई परिवार

डिसी नेपाल
६ कार्तिक २०७७ १०:२३

धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन्। उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्छिन्। छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगिन्, ‘हे दैव! के बिगारेको थियो मेरो गोविन्दले। मेरो मुटुको टुक्रा थियो, चुँडालेर लगिस्। ऊभन्दा पहिले मलाई किन लगिनस्?’ बन्नै लागेको अधुरो घरको एक कुनामा भावविहृल भएकी पूजा बिक (२१) को दूरावस्था पनि देख्न नसकिने छ।

जवानी छँदै पति वियोगले विक्षिप्त बनेकी उनको मुखबाट आवाज निस्किन बन्द भइसक्यो । केवल अश्रुधारा बगिरहेको थियो। पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभूति गरिरेकी छन्।

अछामको बान्नगढी जयगढ गाउँपालिका–५ मा पनि पुनर्वासकै दृश्य छ । ७१ वर्षीया मनसरा साउदको अवस्था पनि पुनर्वासकी कलावतीको जस्तै छ। मुखमा अन्नको दाना नहालेको पनि चार दिन भइसक्यो । रुँदै कराउँदै आफ्नै छाती आफैं पिट्छिन्। छिनछिनमा बेहोस हुन्छिन्।

उनलाई सम्हाल्नका लागि गाउँले र आफन्तहरू घर पुगेका छन्। तर, उनलाई शान्त बनाउन सकेका छैनन्। डाँको छोडेर रुँदै भन्छिन्, ‘अब मलाई को सोध्ला। को हेर्ला। म कसरी बाँच्नु। को पापीले मेरो छोरो लग्यो।’

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत टेकबहादुर साउदको तस्करहरूले हत्या गरेपछि उनकी श्रीमती घिमाका आँखाबाट आँसु आउन पनि बन्द भइसक्यो।

घटनाको खबर पाएपछि आफूलाई सम्हालेर धनगढी पुगेकी उनी शव भेटिएपछि सम्हालिन सकेकी छैनन्। घटनास्थलमै खोजी गर्न पुगेकी उनलाई बल्ल–बल्ल अछाम पु-याइयो। दुई वर्षअघि मात्र उनको बिहे भएको हो। उनका दुई छोरी छन्। बुबाको हत्या भएपछि दुवै छोरीहरूको जीवनको छहारी गुमेको छ।

प्रहरी चौकीका इञ्चार्ज सहायक प्रहरी निरीक्षक गोविन्द बिक र प्रहरी जवान टेकबहादुर साउद ड्उटीकै क्रममा कात्तिक १ गते राति तस्करहरूबाट मारिएपछि उनीहरू दुवैको परिवार उजाडिएको छ। दुवै परिवार शोकमा डुबेका छन्। सिंगो प्रहरी संगठन यतिबेला कर्तव्य निष्ठा राष्ट्रसेवक गुमाएको पीडाले शोकमग्न छ। घटनामा हत्या गरिएका दुवैका आमा, श्रीमतीहरू मुक्र्षित भएका छन्।

दुवैै जनाका दुई–दुई छोरी टुहुरा भएका छन्। कात्तिक २ गते बिहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोविन्दको कात्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टी गरिएको थियो। कात्तिक ४ गते (मंगलबार) मोहना नदीमा शव गाडिएको अवस्थामा फेला परेका साउदको बुधबार अछामको कैलाशखोलामा अन्त्येष्टी गरिएको छ। हिमालय टाइम्स दैनिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *